arrow

भारतले पाल्पाका दुई विद्यालय र एक क्याम्पसको बनायो भवन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
school-india-help.jpg

काठमाडौं । भारतले पाल्पाका दुई विद्यालय र एक क्याम्पसको भवन बनाइदिएको छ । भारत सरकारको ९ करोड ८३ लाख आर्थिक सहयोगमा तीन वटा अध्ययन प्रतिष्ठानका भवन निर्माण सम्पन्न भएका हुन् । 

श्री रम्भा उच्च माध्यमिक विद्यालय, श्री लक्ष्मी उच्च माध्यमिक विद्यालयय र श्री नव आदर्श बहुमुखी क्याम्पसका नवनिर्मित भवनहरुको गत बैशाख ९ र १० गते भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल, जिल्ला समन्वय समिति, पाल्पा, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले भर्चुअल माध्यमद्वारा उद्घाटन गरे । 
 
पाल्पा जिल्लाको ताहुँमा सन् १९५२ मा माध्यमिक विद्यालयको रुपमा स्थापना भएको श्री रम्भादेवी उच्च माध्यमिक विद्यालय सन् २००२ मा उच्च माध्यमिक तहमा स्तरोन्नति भएको थियो । 

हाल विद्यालयमा ६७५ विद्यार्थीहरु अध्ययनरत छन् । जसमा ५५ प्रतिशत छात्राहरु रहेका छन् ।

 ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु ३ करोड २१ लाख अनुदानमा निर्मित यस तीन तल्ले विद्यालय भवनमा १७ वटा कक्षाकोठा, गोष्ठी, कम्प्युटर, प्रधानाध्यापक, लेखा, कर्मचारी, प्रयोगशाला र अनुसन्धानका लागि एक–एकवटा कक्ष, कम्पाउन्ड वाल, फर्निचर तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहने छन् ।  

जिल्ला समन्वय समिति पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।
 
त्यस्तै पाल्पा तानसेन–५ बन्दीपोखरामा सन् १९६३ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय सन् २००८ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति भएको थियो । 

हाल यस विद्यालयमा ३५० विद्यार्थीहरु अध्ययनरत छन् । जसमा ५५ प्रतिशत छात्राहरु रहेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु ४ करोड १३ लाख अनुदानमा निर्मित यस दुईतल्ले विद्यालय भवनमा ८ वटा कक्षाकोठा, २ वटा कार्यालय कक्ष, २ वटा प्राध्यापक कक्ष, कमन रुम सहितको २२ शै्याको होस्टल भवन, चर्पी, पानी ट्याङ्की, फर्निचर तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहने छन् । 

त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त श्री नव आर्दश बहुमुखी क्याम्पस पाल्पाको देउरालीमा सन् २००६ मा स्थापना भएको हो । 

क्याम्पसले कृषिको प्राविधिक कोर्ष र व्यवस्थापन तथा शिक्षा विषयमा डिप्लोमा तहका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । 

हाल क्याम्पसमा ३० विद्यार्थीहरु अध्ययनरत छन् । जसमा ९० प्रतिशत छात्राहरु रहेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु २ करोड ४८ लाख अनुदानमा निर्मित यस दुई तल्ले क्याम्पस भवनमा १३ वटा कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर, क्याम्पस प्रमुख, लेखा र प्राध्यापक, फर्निचर तथा कार्यालय उपकरण तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । 

भारतले नेपालमा ४४८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । 

जसमध्ये पाल्पा जिल्लाका ७ वटा सहित प्रदेश नं ५ मा ४१ वटा परियोजनाहरु रहेका छन् । पाल्पा जिल्लाको एउटा परियोजना सहित प्रदेश नं ५ मा भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित नौवटा परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणहरुमा रहेका छन् । 

यी बाहेक पाल्पा जिल्लाका विभिन्न स्वास्थ्य चौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थालाई भारतीय राजदूतावासले १२ वटा एम्बुलेन्स र २ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । 
यी नवनिर्मित संरचनाहरुले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको पनि दूतावासले उल्लेख गरेको छ । 

यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार अत्यन्तै हर्षित भएको र यस परियोजनाले शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई पूर्णता प्रदान गरेको विश्वाससमेत दूतावासको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ