arrow

‘सम्पर्कविहीन’ भनिएका सांसद शाहीले भनेः म उपचाररत छु, उठेका कैयौं प्रश्नको जवाफ दिनेछु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
khim-bikram-1619687086.jpg

काठमाडौं । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले समाचार र सामाजिक संजाल आएका भ्रामक कुराहरुलाई लिएर आफ्नो धारणा नबनाइदिन आग्रह गरेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला सांसद शाही अस्पतालको ‘आईसीयू’मा भर्ना भएको खबर बाहिरिएपछि उनीमाथि अनेक टिप्पणी भएको थियो ।

सांसद शाहीले विहीबार एक विज्ञप्तिमार्फत पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयहरुमा आफ्नो पनि सहभागिता रहेका जनाउँदै उनले पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।

शाहीले विज्ञप्तिमा भनेका छन्, ‘मिति २०७८ बैशाख १५ गते सदनको कार्यसूची बमोजिम मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने रहेको थियो । तर म सदनमा जाने भनी तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाईलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु । म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ्य भएपछि मेरो बारेमा उठेका कैयौं प्रश्नको वारेमा स्पष्ट गर्ने नै छु ।’

शाही बुधबार दिउँसो १२ बजे अचानक बेहोस भएपछि अस्पताल भर्ना भएका थिए । गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि शाही बिरामी हुनुलाई शंकास्पद भनिएको थियो ।

जनमोर्चाकी गण्डकी प्रदेश सभा सचेतक पियारी थापाले भने शाहीको अवस्था अज्ञात रहेको भन्दै प्रदेश सभा सचिवालयमा निवेदन नै दिएकी थिइन । मंगलबारसम्म सकुशल रहेका शाही अज्ञात रहेको र मत विभाजनको पूर्वार्धमा त्यसो हुनु शंकास्पद रहेको उनको भनाइ थियो ।

प्रदेशसभामा प्रस्तुत मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने समयमा सांसद शाही र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे उपस्थित नभएपछि मुख्यमन्त्री गुरुङको पद तत्कालका लागि जोगिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ