- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) रोमाञ्चक मोडतर्फ पुगेको छ । प्लेअफ समीकरण पूरा हुँदै गर्दा खेल पनि रोमाञ्चक बन्दै गएको हो ।
उक्त क्रममा काठमाडौं रेजर्सले सनसनीपूर्ण जिन निकाल्दै प्लेअफमा स्थान बनाएको हो । बिहीबार बेलुकी भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो ।
गोलको खडेरी लाग्ने, सकभर गोलरहित बराबरी हुने र जितमा पनि १–० को जितको ट्याग भिरेको काठमाडौंले सर्वाधिक गोल भएको पहिलो खेलमा सफलता हात पार्दै प्लेअफमा स्थान बनाउन सफल भएको हो ।
प्रतियोगिताकै रोमान्चक खेलमा दुई गोलको अग्रता उल्टाएर काठमाडौंले उत्कृष्ट जित निकालेको हो । दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गरे । मेसौके जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् । यस्तै स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक एक गोल गरे ।
विराटनगरका पेड्रो मान्जीले दुई गोल फर्काए । यस्तै एडिलाजा सोमिडे र रन्जित धिमालले एक एक गोल गरे ।
खेलमा काठमाडौंका मेसौके प्लेयर अफ दि म्याच चुनिए । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका विश्वास श्रेष्ठ चुनिए ।
जितसँगै काठमाडौंले ५ खेलमा १० अंक जोडेको छ । काठमाडौं दोस्रो स्थानमासमेत पुगेको छ । काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । यसअघि धनगढी एफसी प्लेअफमा पुगिसकेको छ ।
अब दुई टिम प्लेअफमा पुग्न बाँकी रहेको छ । विराटनगरले ५ खेलमा ७ अंक जोडेको छ । विराटनगर तेस्रो स्थानमा रहेको छ ।
विराटनगरको पनि प्लेअफ सम्भावना रहेको छ ।
चितवन र पोखरा भिड्दै
एनएसएल अन्तर्गत शुक्रबार एक खेल हुँदैछ । खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ः३० बजे शुरु हुनेछ ।
यो खेल जित्दा पोखराले प्लेअफ सम्भावना कायम राख्नेछ भने हारले बाहिरिने छ । पोखराको यस खेल लिग चरणको अन्तिम खेल हो ।
पोखरा ५ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ। ४ खेलमा २ अंक जोडेको चितवन भने पुछारमा छ ।
चितवनलाई प्ले अफ सम्भावना कायम राख्न बाँकी दुई खेल जित्नै पर्ने दबाब छ ।