- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । धनगढी एफसी चौधरी ग्रुप सीजीको नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजनमेन्टको आयोजनामा संचालित नेपालकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति सम्पन्न भएको पहिलो क्वालिफायरमा काठमाडौं रेजर्सलाई २–१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे ।
काठमाडौंका तेज तामाङले शुरुआती अग्रता दिलाएका थिए । खेलको निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा निर्णायक बनेको हो । अतिरिक्त समयमा विशालले खेलको १ सय ८ औं मिनेटमा गोल गरे ।
त्यसअघि ७५ औं मिनेटमा काठमाडौंका तेजले र ७८ औं मिनेटमा धनगढीका पुजनले गोल गरेका थिए ।
रोमान्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलमा धनगढीका फ्रान्कलिन कुइटे प्लेयर अफ दि म्याच तथा धनगढीकै सौजन राई इमर्जिङ प्लेयर अफ दि म्याच चुनिए ।
अबको समीकरण
जितसँगै धनगढी फाइनलमा पुगेको छ । अब पराजित काठमाडौंले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल खेल्ने मौका पाउने छ ।
काठमाडौंले इलिमिनेटर खेलको विजेतासँग खेल्नेछ । इलिमिनेटर खेलमा बुधबार ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ ।
खेल साँझ ५ः३० बजे दशरथ रंगशालामै हुनेछ । यो खेलको विजेताले काठमाडौंसँग फाइनल प्रवेशका लागि क्वालिफायर खेल्नेछ । हार्ने टिम बाहिरिने छ ।
फाइनल खेल आगामी शनिबार हुनेछ । विजेताले ३५ लाख रुपैयाँ पाउने छ । पहिलो पटक संचालित फ्रेन्चाइज फुटबलमा ७ टिमले सहभागीता जनाएका छन् ।