arrow

जोखिम पूर्ण क्षेत्र र समुदायमा साइन नेपालद्वारा स्वास्थ्य सामग्री वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
doti-sahayog.PNG

डोटी । मानवीय सेवामा अनेकौँ प्रयास संस्था कैलालीले कोरोना भाइरस (कोभिड-१९) को प्रभावित क्षेत्र, समुदाय, फ्रण्ट लाइनमा कार्यरत सुरक्षाकर्मी र पत्रकारहरूलाई स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको छ ।

नेपालमा पहिलो चरणको कोरोना भाइरस भित्रिएसँगै भाइरस नियन्त्रण र सङ्क्रमण न्यूनीकरणका लागि प्रवासीको उद्धार, क्वारेनटाइन स्थापना, व्यवस्थापन देखि स्वास्थ्य सामग्री, औषधि, रासन, राहत वितरण जस्ता काम गर्दै आएको उक्त संस्थाले यस पटक पनि भाइरस नियन्त्रणका लागि काम गर्दै आएको छ ।

संस्थाले केयर एन्ड रिलिज परियोजना अन्तर्गत डोटीका विभिन्न सङ्घ संस्था र प्रभावित समुदायमा स्वास्थ्य सामग्री वितरण गरेको हो । बुधवार महामारीमा फ्रण्ट लाइनमा रहेर काम गर्ने पत्रकारहरूका लागि नेपाल पत्रकार महासङ्घ डोटी मार्फत र सुरक्षाकर्मीका लागि जिल्ला प्रहरी कार्यालय डोटी मार्फत स्वास्थ्य सामग्री वितरण गरेको हो ।

जोखिममा रहेको डोटी कारागार, वाल सुधार गृह डोटी, साना गाउँ प्रहरी चौकीलाई समेत स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए । त्यस्तै कोरोना भाइरसको जोखिममा रहेको समुदाय पूर्वी चौकी गाउँपालिका वडा नं. ५ का बासीन्दाहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको छ । त्यस्तै सोही गाउँपालिकाको वडा नं. १, ३, ४, र ६ मा वडा कार्यालय अन्तरगत सामग्री वितरण गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमणबाट टाढा राख्नका लागि जोखिमपूर्ण समुदाय क्षेत्रको पहिचान गरी सर्किजल मास्क, स्यानिटाइजर, थर्मल गन, अक्सि पल्स मिटर, हर्पिक र ब्रस, पिपिई सेट, सर्किजल ग्लोब्स लगायतका सामग्री वितरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले बताए ।

स्वास्थ्य सामग्रीहरू बुझ्दै कारागार डोटीका प्रमुख लाल बहादुर बोगटीले प्राप्त सामग्रीले सङ्क्रमण फैलिनबाट जोगाउने विश्वास व्यक्त गरे । कारागार क्षेत्र कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको बताउँदै उनले एक जनामा सङ्क्रमण भए सबैमा फैलिने सम्भावना रहेका बताए । कारागार जस्तो संवेदनशील क्षेत्रको पहिचान गरी संस्थाले स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएकोमा बोगटीले धन्यवाद व्यक्त गरे ।

बाल सुधार गृहका प्रमुख सानुमाया लिम्बुले बाल सुधार गृहमा रहेका बालबालिकाहरूमा कोरोना सङ्क्रमण भए नकारात्मक मनोवैज्ञानिक असर पर्ने र बालबालिकामा त्रास पैदा हुने जोखिम पनि उत्तिकै रहेको बताइन् । उनले यस्तो महामारीको समयमा बाल सुधार गृहलाई स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएकोमा आभार प्रकट गरिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ले फ्रण्ट लाइनमा रहेर काम गर्ने प्रहरीहरू कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको बताए । उनले जिल्लामा कार्यरत कतिपय प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण भैसकेको बताउँदै सङ्क्रमण नियन्त्रणका लागि खट्नु पर्ने र आफू पनि सुरक्षित रहनु पर्ने अवस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे । उचित समयमा प्राप्त भएको उक्त स्वास्थ्य सामग्री नेपाल प्रहरीका सबै युनिटहरूमा वितरण गरिने प्रहरी प्रमुख मल्लले बताए ।

वडाध्यक्ष नवराज खड्काले संस्थाले स्थानीय सरकारसँगको समन्वयमा पटक-पटक समुदायमा आवश्यक सहयोग गर्दै आएको बताए । यस पटक उपलब्ध गराएको स्वास्थ्य सामग्रीले समुदाय तथा वडा सरकारलाई ठुलो राहत पुगेको उनको भनाई छ ।

संस्थाले बिहीबार आदर्श गाउँपालिका र शिखर नगरपालिकामा पनि स्वास्थ्य सामग्री वितरण गर्ने जनाएको छ । समुदाय स्तरमा कोरोनाको सङ्क्रमण चेकजाँच गर्न र सङ्क्रमितलाई समयमै सचेत गराउँदै उपचार गराउन पहल गर्ने उद्देश्यका साथ तीन सय जनाको एजेन्ट परीक्षण गर्ने तयारी रहेको अध्यक्ष जोशीले बताए । पूर्वी चौकी र शिखर नगरपालिका अन्तरगत कोरोना सङ्क्रमितले ज्यान गुमाएको समुदायमा एजेन्ट परीक्षण गरिने छ ।

साइन नेपालको केयर एन्ड रिलिज परियोजना सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरका गरी १२ वटा स्थानीय तहमा सञ्चालनमा रहेको छ । संस्थाले डोटी लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा आवश्यकता र माग अनुसार स्वास्थ्य, शिक्षा, कृषि, कु- प्रथा, आपातकालीन, महामारीको अवस्था, विपत् जोखिम लगायतका विषयमा काम गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ