arrow

एनएसएल फुटबलः एउटै प्रतियोगितामा धनगढी र काठमाडौंबीच तेस्रो भिडन्त, उपाधि छिनोफानो शनिबार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
nsl.JPG

काठमाडौं । धनगढी एफसी र काठमाडौं रेजर्स चौधरी ग्रुप सीजीको नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजनमेन्टको आयोजनामा संचालित नेपालकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेका छन् ।  

धनगढी पहिलो क्वालिफायर्समा काठमाडौंलाई हराउँदै र काठमाडौं दोस्रो क्वालिफायर्समा ललितपुर सिटी एफसीलाई हराउँदै फाइनलमा पुगेको हो । 

बिहीबार बेलुकी सम्पन्न खेलमा काठमाडौंले ललितपुरलाई ३–० गोल अन्तरले पराजित गर्यो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । यस्तै स्टेफेन बिनोङले एक गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको १५ औं मिनेटमा मेसौकेले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए । मेसौकेको पासमा स्टेफेनले बल अगाडी बढाउने क्रममा ललितपुरका डिफेन्डर कमल श्रेष्ठले बक्स भित्र लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । 

खेलको २२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए । तेज तामाङले डिबक्स बाहिर उपलब्ध गराएको बल अगाडी बढाउदै डिफेन्डर पिटरलाई बिट गर्दै मेसौकेले उत्कृष्ट गोल गरे ।

र खेलको ६० औं मिनेटमा बिनोङले गोल गर्दै काठमाडौंलाई ३–० को जित दिलाए । 

काठमाडौंका मेसौके प्लेयर अफ द म्याच र काठमाडौंका आशिष गुरुङ इमर्जिङ प्लेयर अफ द म्याच चुनिए । 

उपाधि भिडन्त 
अब उपाधिका लागि काठमाडौंले धनगढीसँग खेल्नेछ । काठमाडौं र धनगढी बीचको फाइनल खेल शनिबार हुनेछ ।

धनगढी र काठमाडौंको तेस्रो भिडन्त हुँदैछ । लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले हराएको थियो । पहिलो क्वालिफायर्समा अतिरिक्त समयमा २–१ गोल अन्तरले हराएको थियो भने फाइनलमा धनगढी हाबी देखिने आँकलन गरे पनि काठमाडौं भने फायर बनेर आइरहेको छ । उसलाई बदलासहित उपाधि जित्ने मौका छ । 

फाइनल खेल शनिबार साँझ ५ः३० बजे शुरु हुनेछ । यो खेलको विजेताले ३५ लाख रुपैयाँ जित्नेछ । यसपालि कोरोनाको महामारीबीच निषेधाज्ञा भए पनि यो खेल भने रोकिएन । 

आयोजकले शुरुआतदेखि नै दर्शकविहीन भएर खेलाएको थियो । स्वास्थ्य प्रोटोकलसमेत पूरा गरेको दाबी आयोजकको छ । 



नयाँ