arrow

उनीहरु एक्लो छैनन्ः असहाय गाईबाछा संरक्षण अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
cow-cry.jpg

काठमाडौं । ‘झण्डै १५ दिन उमेरको एउटा बाछी नदी किनारमा फेला पर्यो । धेरै मुस्किलले उनलाई बचायौं । आज उनी आमा बन्ने भएकी छिन्’, असहाय गाईबाछा संरक्षण अभियानका अध्यक्ष उत्तम पुडासैनीले भने । 

त्यस्तै उनले अर्को उदाहरण दिँदै भने, ‘धापासीमा कसैको खुकुरी प्रहारबाट शरीरको झण्डै २ केजीभन्दा ज्यादा मासु गायब भएको बाछाको उद्धार २०७७ साउन १५ गते भयो । होशियारीपूर्वक उस्को उपचार गरियो । आज ऊ तन्दूरुस्त भएको छ ।’

अभियानले थुप्रैको उद्दार गरिसकेको छ । खान नपाएर जीर्ण बनेका, पानी पिउन नपाएर प्याक प्याक मुख सुकेका, सडक दुर्घटनामा घाइते बनेका, सानो उमेरमै बाटोमा फालिएका, कुकुरले टोकेर रेबिज रोग लागेका र यस्तै अनेक किसिमले दुब्र्यवहारमा परेका गाईबाछाहरुको संरक्षणका लागि २०७६ जेठ १ गते स्थापना गरिएको असहाय गाईबाछा संरक्षण अभियानले तेस्रो वर्षमा पदार्पण गर्दैगर्दा धेरै सफलताका कथाहरु सिर्जना भएका छन् ।
 
बागमती नदी सफाईका क्रममा हरेक दिन कम्तिमा एउटा बाछाको अन्त्येष्टी गर्नुपरेको क्रुर अनुभवलाई समेट्दै अब उनीहरुले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने हेतुले असहाय गाईबाछा संरक्षण अभियानको थालनी भएको पुडासैनीले बताए । 

२०७० देखि २०७६ को अवधिमा नदी किनारमा १४०० मृत गाईबाछाहरुको अन्तिम ब्यवस्थापन गर्नुपरेको कटु अनुभवले के दर्शाएको छ भने खासगरि काठमाडौं उपत्यकाभित्र हरेक दिन मासुका लागि असहाय गाईबाछाहरुको तस्कर गर्ने र उनीहरुलाई मार्ने गरिएकोसमेत पाइएको छ । 

अभियानले दाबीका साथ भनेको छ, ‘नदी किनारमा देखिने लादीका थुप्रोहरु यसका उदाहरण हुन् ।’ कुकुरको टोकाई, गाडीको ठक्करले दैनिक आधा दर्जन गौप्राणीको हत्या हुने गर्दछ । अखाद्य पदार्थ खाएर या पानी पिउन नपाएर र खाना खानै नपाएर दैनिक ३ वटा यस्ता प्राणीहरु मर्ने गर्दछन् । 

अत्यन्तै साना महिना दिन पनि उमेर नपुगेका बाछाहरु खानै नजानेर कमजोर भै मर्ने गरेको समेत अभियानले जनाएको छ । यसरी दैनिक एक दर्जन ज्यादा राष्ट्रिय जनावर या तीनका सन्तानले मृत्युवरण गरिरहेको सन्दर्भमा उनीहरुको उचित हेरचाह गर्दै जीवन दिने उदेश्यले स्थापना भएको असहाय गाईबाछा संरक्षण अभियानअन्तर्गत यसबखत २०० ज्यादा गाईबाछाले नयाँ जीवन पाइरहेका छन् । 

उपत्यकालगायत काभ्रे जिल्ला समेतबाट सडकमा बिचल्लीमा पारिएका गाईबाछाहरुलाई संकलन गर्दै उनीहरुलाई जीवन दिने कार्यलाई स्वयंसेवी रुपमा संचालन गरिएको अभियानले जनाएको छ । 

पूर्ण रुपमा स्वयंसेवी तवरले संचालन गरिएको यस अभियान अन्तर्गत पछिल्लो समयमा विभिन्न ब्यक्तिहरु आफ्नो जन्मदिन, आफन्तको स्मृति लगायत विविध शुभकार्यका अवसरमा संरक्षण स्थल आई उनीहरुलाई भोजन गराउने गरिरहेको अभियानले बताएको छ । 

‘हामी गर्न सक्छौं र हामीले गर्नुपर्छ भन्ने आदर्शलाई पछ्याउँदै शुरु गरिएको यस अभियानका क्रममा बितेका २ बर्षमा ३५० ज्यादा गाईबाछाको बिभिन्न स्थानबाट उद्धार गरिएको छ ।’ अभियानका अध्यक्ष पुडासैनीले भने । 

छाना, खाना र उपचारको उचित प्रवन्धको सुनिश्चितता यस अभियानले गर्दै आएको छ । नेपालमा स्वयंसेवी अभियानको औचित्य पुष्टि गर्दै समाज परिवर्तनका लागि स्वयंसेवी अभियान सम्भव छ भन्ने मान्यता स्थापनामा यस अभियानले प्रमाणित गरेको छ । 

पुडासैनी अगाडि भन्छन्, ‘राष्ट्रिय जनावर र तिनका सन्तानमाथिको क्रुरता र अन्याय अन्त्य गरौं, प्राणी अधिकारको सम्मान गरौं भन्ने आग्रह गर्दै यसतर्फ सरकारी निकायको ध्यान आकर्षित गर्ने र गाईपालक कृषहरुलाई आफ्नो नैतिकतालाई बन्धकी नराख्न आग्रह गर्दै आएका छौं ।’

स्थानीय सरकारले प्रत्येक नगर या गाउँपालिकामा एउटा कान्जि हाउस स्थापना गर्नुपर्ने, कृषि क्षेत्रमा सरकारी लगानीगर्दा बाछा ब्यवस्थापनको जिम्मेवारी सरकार स्वयंले बहन गर्नुपर्ने, राष्ट्रिय जनावर वा तीनका सन्तामाथिको क्रुरतालाई कानूनी रुपमा दण्डित गरिनुपर्ने, एउटा स्थानीय ईकाईबाट अर्को ईकाईमा गाईबाछा ओसार पसारमा स्थानीय निकायको अनुमती अनिवार्य गर्नुपर्ने जस्ता बिषयमा यस अभियानले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण समेत गराएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ