arrow

डोटीमा ५० शय्याको अस्थायी कोभिड अस्पताल बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
doti-isolation.jpg

डोटी । डोटीमा ५० शय्याको अस्थायी कोभिड अस्पताल स्थापना हुने भएको छ । आइतबार सिलगढीमा आयोजित अन्तर पालिका स्तरीय समन्वय बैठकले राजपुर स्थित सेती सभा हलमा अस्थायी कोभिड अस्पताल स्थापना गर्ने निर्णय गरेको हो ।

निर्माण पछि प्रयोग विहीन भएको सेती सभा हलमा यस अघि पनि क्वारेनटाइनको व्यवस्था गरिएको थियो । सोही सभाहललाई महामारी नियन्त्रण नभए सम्मका लागि अस्थायी कोभिड अस्पतालमा परिणत गरिने भएको छ ।

डोटीका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, पत्रकार महासङ्घ लयागतको उपस्थिति रहेको उक्त बैठकले अक्सिजन र स्वास्थ्यकर्मी सहितको ५० शय्याको अस्पताल स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले अस्पताल स्थापनाका लागि जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख उद्धव बहादुर ठगुन्नाको संयोजकत्वमा ६ सदस्यीय विज्ञ समिति गठन गरेको छ । समितिको सदस्यमा नेपाल पत्रकार महासङ्घ डोटीका उपाध्यक्ष अरुण बम, जिल्ला अस्पतालका डाक्टर कृष्णराज जोशी, नागरिक समाजका तर्फबाट अधिराज बि सी, दिसिनपाका स्वास्थ्य संयोजक गणेश बहादुर भण्डारी र पत्रकार कर्ण चन्द रहेका छन् ।

विज्ञ समितिले अस्पताल स्थापनाका लागि चाहिने पूर्वाधार, औषधि, जनशक्ति, स्वास्थ्य सामग्री र आर्थिक लगायतको रिपोर्ट तयार गर्ने छ । त्यसैका आधारमा डोटी स्थित स्थानीय तहहरूले जनशक्ति, पूर्वाधार र आर्थिक फन्ट सङ्कलन गरेर अस्पताल स्थापना गरिने छ ।

बैठकले अस्पताल स्थापना, फन्ट सञ्चालन र अस्पताल सञ्चालनको जिम्मा जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)लाई दिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजक रहेको डिसिसिएमसिमा जिल्ला स्थित सुरक्षाकर्मी, स्वास्थ्य कार्यालय, जिल्ला अस्पतालका प्रमुख तथा सरोकारवाला सदस्य रहन्छन् । जिल्लाका सबै पालिकाका प्रमुखहरू त्यसको आमन्त्रित सदस्य रहने व्यवस्था छ ।

अस्पताल स्थापनाका लागि सुजंङ्ग अस्पतालले ३० वटा बेड उपलब्ध गराउने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । केही बेडहरू जिल्ला अस्पतालले उपलब्ध गराउने छ । महामारी नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नु पर्ने अवस्था आएको बताउँदै नगर प्रमुख सिताराम जोशीले अपुग बेडहरू शिखर नगरपालिकाबाट उपलब्ध गराउने बताए ।

दिपायल सिलढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले कोभिड अस्पताल स्थापना पछि जिल्लाका कडा लक्षण देखिएका बिरामीहरूले सेवा पाउने बताइन् । महामारी तीव्र गतिमा फैलिरहेको बताउँदै उनले अस्पताल स्थापनाका लागि सहयोग गर्न जिल्ला स्थित सबै सरोकारवालालाई आह्वान गरिन् ।

केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले अस्पताल स्थापनाका लागि जिल्ला स्थित सबै पालिकाका सरकारहरू र जिल्लामा कार्यरत सबै क्षेत्रका सङ्घ संस्थाले सहयोग गर्नु पर्ने बताए । जनतालाई सहज स्वास्थ्य सेवा दिन केआइसिंह सरकार तयार रहेको बताउँदै शाहीले गाउँपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

कोभिड अस्पताल स्थापना पछि सबै स्थानीय तहबाट स्वास्थ्यकर्मी खटाइनुका साथै स्वास्थ्यकर्मी र बिरामीको खानपिनको व्यवस्था गरिने छ । जिल्लामा उपचाररत बिरामीहरूलाई अक्सिजनको अभाव भइरहेको अवस्थामा बैठकले अस्थायी अस्पतालमा अक्सिजनको समेत व्यवस्था गर्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ