arrow

निषेधाज्ञामा बिना काम हिँडडुल र पास बिना सवारी चलाउनेमाथि कडाइ  

logo
प्रकाश बम,
प्रकाशित २०७८ जेठ ४ मंगलबार
tapaiko-mask-khoi-doti.jpg

डोटी । निषेधाज्ञामा बिना काम हिँडडुल गर्ने, बिना पास सवारी साधन गुडाउनेहरुलाई प्रहरीले कडाइ गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने, ‘निषेधाज्ञाको उल्लंघन गरी जथाभावी सडक तथा बजार क्षेत्रमा डुल्ने व्यक्तिहरुलाई कारबाही गर्न थालेका छौं । अति आवश्यक बाहेक सडकमा गुड्ने सवारी साधनहरुको चेक जाँच गरी कारबाही गर्न थालिएको छ।’

उनले भने, ‘कोरोना कहर जिल्लामा बढेसँगै स्थानीय सरकारको समन्वयमा गाउँगाउँमा समेत गस्ती परिचालन गरिएको छ । प्रहरीले भारत लगायत तेस्रो मुलुकबाट आएर होम क्वारेन्टिनमा बसेकाहरुको समेत निगरानी राखेका छौं । होम आइसोलेसनमा बसेकाहरु नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी गाउँमा हुने विवाह व्रतबन्धमा सहभागी हुने जाँडरक्सी सेवन गरेर गाउँमा डुल्ने  व्यक्तिहरुको निगरानी राखिनुका साथै कानूनी दायरामा ल्याइने छ ।’
                                          
जिल्ला प्रहरी कार्यालय डोटीले निषेधाज्ञाको अवधिमा प्रहरीले निषेधाज्ञाका उल्लंघन गर्ने ३ सय ९ सवारी साधन र आठ हजार ३६ जना मानिसलाई कारबाही गरेको जनाएको छ । चैत १२ गते यता निषेधाज्ञा उल्लंघन गरी बिना पास चलेका सवारीलाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ छाडेको जनाएको छ ।

सम्झाइबुझाइ गर्दा पनि अटेरी गरेर निषेधाज्ञा उल्लङ्घन गर्ने ७७९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ छोडिएको छ । 

त्यस्तै जथाभाबी हिँड्ने सात हजार दुई सय ५७ जनालाई सम्झाइबुझाइ छोडिएको प्रहरीको तथ्याङ्क उल्लेख छ । निषेधाज्ञाकै बीचमा प्रहरीले ७५ वटा “तपाईको मास्क खोई” जनचेतना मुलक कार्यक्रम र ३५९ पटक सचेत गराउन माइकिङ्ग गरेको छ ।

“तपाईको मास्क खोई” कार्यक्रम अन्तरगत बैशाख १६ गते यता एक हजार २८ जनालाई मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले सार्वजनिक गरेको छ।

जिल्लामा निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई सडकमा उभ्याएर प्रहरीले कारबाही समेत गर्न थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ