arrow

पाँच खेलाडी पहिलो पटक राष्ट्रिय टिममा, यस्तो बन्यो विश्वकप छनोट र ईराकसँग खेल्ने टोली 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
nepal-football-team.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप तथा एसियाली छनोट र ईराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका छन् ।

अलमुताइरीले बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट अन्तिम टोलीको घोषणा गरेका हुन् । पाँच नयाँ खेलाडीले अवसर पाउँदा केही चर्चित अनुहार हटाइएका छन् । 

भरत खवास, रंजित धिमालसहित अमित तामाङ, सेसेहाङ आङदेम्बे, रवि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन् ।

पहिलो पटक पाँच खेलाडीहरु सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी राष्ट्रिय टिममा परेका छन् ।

यस्तो छ नेपाली टिमः 
गोलकिपरमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की छन् भने बिकेश कुथु पहिले नै बाहिरिएका थिए । डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास रहेका छन् । 

मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान रहेका छन् । 

त्यसैगरी फरवार्डमा नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट र आशिष लामा रहेका छन् । 

नेपालले दश दिनपछि मे २९ मा बसरा अन्तर्राष्ट्रिय मैदानमा ईराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । 

ईराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसिया कप छनोटका बाँकी तीन खेल हुनेछन् । 

घरेलु दशरथ रंगशालामा खेल्ने भनिएका बाँकी खेलहरु अब कुवेतमै हुनेछन् । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेइसँग प्रतिस्पर्धा गर्न बाँकी छ । 

नेपालले जुन ३ मा ताइपेइसँग, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।



नयाँ