arrow

इलामबासीले बारम्बार सोध्ने प्रश्नः शासन सत्ता हाँकेका हाम्रा नेता महाविपत्तिका बेला कहाँ छन् ?

logo
प्रकाश नेपाल र गगन घिमिरे
प्रकाशित २०७८ जेठ ६ बिहिबार
Ilam leader.jpg

इलाम । कोरोना भाइरसको संक्रमण गाउँ र समुदायस्तरमा फैलने क्रममा छ । भारतसँग सीमा जोडिएको इलाम महामारीको अघिल्लो लहरमा धेरै प्रभावित नभएपनि दोस्रो लहरले भने जोखिमपूर्ण बन्दै गइरहेको छ । संक्रमण र मृत्यु दर क्रमशः उकालो लागिरहेको छ ।

सुविधा सम्पन्न अस्पताल र पर्याप्त स्वाथ्यकर्मीको जनशक्तिको अभाव खेपिरहेको इलाममा यतिबेला मुलुकको शासनसत्तामा पुगेका नेताहरुप्रति जिल्लाबासीले धेरै अपेक्षा गरेका छन् ।

देशको पूर्वप्रधानमन्त्री, मन्त्री र सभामुखसम्मको जिम्मेवारी सम्हालिसकेका इलामे नेताहरुसँग यो महाविपत्तमा जिल्लाबासीले प्रशस्त सहयोगको अपेक्षा गरेको सरोकारवालाहरुको बुझाइ छ । इलाम सूर्योदय नगरपालिका-६ का सन्तोष गुरुङ भन्छन्,‘संकटको बेला मात्र होइन नेताहरु सँधै चाहिन्छन् तर यस पटकको विश्वव्यापी महामारीमा उनीहरुको उपलब्धीमूलक उपस्थिति चाहिएको छ, यस्तो बेला मत दिएर जिताएका नेताहरुबाट सहयोग नहुनु भनेको गैरजिम्मेवारी हो,’ उनले भने, ‘सुविधा सम्पन्न अस्पताल र उपकरण नभएर छिमेकी देश भारत र झापा जानुपर्ने विरामीका लागि जिल्लामै जनशक्तीसहितको अस्पताल चाहिएको छ ।’

दशकौंदेखि राज्यका विभिन्न महत्वपूर्ण पद र पहुँचमा पुगेर पनि जिल्लाका लागि पर्याप्त सहयोग नगरेको, जितेर गएपछि फर्किएर नहेरेको र संकटका बेला साथ नदिएको इलामबासीको गुनासो छ । नेपाली कांग्रेसका पाका नेता तथा पूर्वमन्त्री कुलबहादुर गुरुङ, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाङ, सांसद सुजाता परियार साथै प्रदेशका मन्त्री र सांसदहरुले जिल्लाका लागि सोचेअनुरुप काम गर्न नसक्दा अहिलेको महाविपत्तिमा इलामबासीलाई समस्या भएको गुनासो छ ।

समाजसेवी निरोज खड्गीले जिल्लाबाट निर्वाचित भई प्रधानमन्त्री, मन्त्री, सभामुख र सांसद भइसकेका जनप्रतिनिधिले बढ्दै गएको स्वास्थ्य जोखिम कम गर्नका लागि केही नगरेको दुखेसो पोखे । नेताहरुबाट सहयोग नभएपछि कोरोना संक्रमितलाई सहयोग गर्ने र आर्थिक रकमले भ्याएसम्म इलाम अस्पताललगायतका स्वास्थ्य केन्द्रका उपकरण मर्मत र नयाँ खरिदका लागि जनस्तरबाट स्वतस्फूर्त रुपमा आर्थिक संकलन नै शुरु गरेको जानकारी दिए ।

खड्गीले प्रधानमन्त्री भइसकेका खनाल र पूर्वसभामुख नेम्वाङप्रति विषेश अपेक्षा गरेपनि सोचेअनुरुप सहयोग नपाएको बताए । विशेषत जिल्लाको केन्द्रमा रहेको इलाम अस्पतालका लागि पटक पटक बचन दिएको तर आधारभूत हिसाबले सुविधा सम्पन्न बनाउन नसकेको आरोप लगाए । खनाल र नेम्वाङकै पहलमा जिल्ला अस्पतालमा ल्याएको भनिएको उपकरणहरु पनि संचालन हुन नसक्दा समस्या बढेको उनको गुनासो छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘तपाइँहरुलाई इलामेले पटक-पटक जिताएर उच्च ओहोदामा पुर्‍याए । तर तपाइहरुले इलामलाई के दिनुभयो ? यो महामारीको बेला इलाम अस्पतालमा भएको भेन्टिलेटरसमेत सञ्चालन हुनसक्ने बनाउन तपाइँहरुको कुनै दायित्व रहंदैन ? इलामबासीले जिल्लामै उपचार नपाएर कहिलेसम्म बाहिरी जिल्ला पुगेर मर्नुपर्ने हो ?’

खड्गीले अगाडी लेखेका छन्,‘के इलामबासी काम चाहीं निर्वाचनमा भोट दिएर ठुलो मान्छे बनाउने काम मात्रै हो ? तपाईहरु भन्रुहोस् हामी इलामलाई केही गर्न सक्दैनौं भनेर आत्मासमर्पण गर्नुहोस् । त्यसपछि गर्ने कुरा हामी इलामबासी गर्न तयार छौं । हामी इलामेहरूले तपाईंलाई ठुलो विश्वास गरेका थियौं तर तपाईहरुले निराशा बनाउनुभयो । यति धेरै  पीडा र दुःख भोगिरहेकाहरूको निम्ती समवेदना र सहानुभूति प्रकट गर्ने समय पनि भएन ?’ 

विजयी भएर गएका जनप्रतिनिधिले जिल्लाबासीलाई मतदाता मात्रै सम्झिएको र अब प्रधानमन्त्रीको, संविधानसभा अध्यक्षको र मन्त्रीको जिल्ला भनेर गर्व गर्नु बेकार हो भनेर खड्गीले गुनासो गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा अभावै अभाव

इलाम अस्पताल पुरानो अस्पताल भएपनि पर्याप्त उपकरणको अभाव छ । ५० शय्या क्षमताको इलाम अस्पतालमा संघीय सरकारले दिएको भेन्टिलेटर साथै इन्सेन्टिभ केयर युनिट(आइसियु) पनि छ । जनशक्ति अभावमा भेन्टिलेटर थन्किएको छ। संचालनका लागि कुनै प्रक्रिया अघि बढेको छैन् ।

अस्पतालले पटक-पटक मन्त्रालयलाई पत्र लेखेर समस्याबारे जानकारी गराएपनि कुनै चासो दिएको छैन् । कोरोनाले विकराल स्थिति लिइरहेका बेला ४० लाख मूल्य बराबरको भेन्टिलेटर थन्किएपछि इलामबासी आक्रोशित छन् । खनाल र नेम्वाङले अस्पतालको उपकरण र जनशक्ति व्यवस्थापनमा पहल नगरेको गुनासो छ ।

अस्पताल स्रोतका अनुसार भेन्टिलेटर सञ्चालन गर्ने एनेस्थेसियोलोजिस्ट भएपनि आवश्यक अन्य विशेषज्ञ नहुँदा संचालनमा ल्याउन समस्या भएको छ । अस्पतालमा एक जना मात्र डाक्टर छन् । अस्पतालमा १४ चिकित्सकको दरबन्दी छ । जिल्लाका अन्य स्थानीय तहमा पनि सुविधासम्पन्न अस्पताल छैनन् ।

जनस्तरबाटै अभियान शुरु, नेतालाई ब्यङ्ग्य

पटक पटक शासन सत्तामा पुगेका जिल्लाबासी नेताले जिल्लाको स्वास्थ्य क्षेत्रमा ध्यान नदिएपछि यतिबेला जनस्तरबाटै एउटा अभियान शुरु भएको छ । स्वास्थ्यलगायत अन्य समस्याहरुमा सहायता पुर्‍याउन भनी ‘इलामेली पीडामा मलहम पट्टी’ अभियान शुरु गरिएको इलाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हिमालय कर्मचार्यले जानकारी दिए । पहुँच र शक्तिमा पुगेका नेताहरुबाट सोचेअनुसार सहयोग नभएपछि हामीले स्थानीय स्तरबाट आर्थिक सहयोग संकलन अभियान शुरु गरेका हौं,’ कर्मचार्यले भने ।

इलाम उद्योग वाणिज्य संघको बैंक खातामा रकम जम्मा हुनेगरी विश्वभरबाट आर्थिक संकलन शुरु भइरहेको उनले बताए । आफ्नो पहलमा जम्मा भएको करिब तीन लाख रुपैंयाँ वाणिज्य संघलाई हस्तान्तरणको तयारी गरिरहेको पनि कर्मचार्यले जानकारी दिए ।

काठमाडौंलगायत देशका ठूला सहरहरुमा पनि आर्थिक संकलन अभियान शुरु भएको समाजसेवी तथा कानुन व्यवसायी समिप घिमिरेले जानकारी दिए । उनले भने,‘कोरोना संक्रमण भएपछि उपचार नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस भनेर स्वास्थ्य सामाग्री खरिद र उपचारका लागि स्वतःस्फूर्त रुपमा अभियानमा जोडिएका हौं ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ