arrow

प्रधानमन्त्रीका कदम विरुद्ध लड्न मुगुका पाँच दल एकजुट

logo
युद्धबहादुर मल्ल,
प्रकाशित २०७८ जेठ ११ मंगलबार
mugu-leader.JPG

मुगु । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट तत्कालीन संसद विगठन गरिएपछि यस कार्यलाई प्रतिगमनको संज्ञा दिँदै यसको विरोध गर्न यहाँका प्रमुख दलहरू एकजुट भएका छन् ।

मङ्गलवार नेपाली काँग्रेस जिल्ला कार्य समिति मुगुको पाटी कार्यालयमा बसेको प्रमुख क्रियाशील ५ दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा वली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट पटक पटक सांसदलाई वली बनाई संविधान विपरीत कार्य गरेको भन्दै यसको जिल्ला स्तरमा सशक्त रूपमा विरोधका कार्यक्रमहरु गर्ने निर्णय गरेको हो ।

बैठक नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति खड्क बहादुर शाहीको अध्यक्षतामा बसेको थियो । बैठकमा जिल्लामा क्रियाशील प्रमुख पार्टीहरू नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एमाले माधव–झलनाथ पक्ष,जनता समाजवादी पाटी र राष्ट्रिय जनमोर्चाका प्रमुखहरूको उपस्थिति रहेको थियो । बैठकमा उपस्थित पार्टीहरूका प्रमुखहरूले संयुक्त दस्तखत गदै एक विज्ञप्ति निकालेका छन् ।

 सार्वजनिक गरिएको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ 'नेपाली जनताको ७ दशक लामो कठोर आन्दोलन,त्याग,र बलिदानपूर्ण सङ्घर्षबाट स्थापित नेपालको संविधान माथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी आघात पुर्‍याएका छन् । संविधानको धारा ७६ को उपधार ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्ति केपी शर्मा ओली दाह्रा सोही धाराको ४ बमोजिम विश्वासको मत लिनु पर्ने बाध्यकारी प्रावधान उलङ्घन गदै उपधारा ५ बमोजिम प्रधानमन्त्री हुनुपर्ने सिफारिस राष्ट्रपतिलाई गरियो । संविधानको संरक्षणको दायित्व रहेको राष्ट्रपतिबाट समेत प्रधानमन्त्रीको उक्त सिफारिस अनुसार नै १ दिनको समय सीमा समेत दिई बहुमत जुटाउन गरिएको आव्हान आफैमा शङ्कास्पद रह्यो । राष्ट्रपति आव्हान अनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागी समर्थन १४९ सांसदहरूको हस्ताक्षर राष्ट्रपतीय कहाँ बुझाइए पनि राष्ट्रपतीय र प्रधानमन्त्रीको मिलेमतोमा १५३ जना सांसद मध्य एमालेका केही र जनता समाजवादीका केही सांसदको नक्कली हस्ताक्षर गरी केपी शर्माले पनि प्रधानमन्त्रीको दाबी पेस गरेको भन्दै राष्ट्रपति संविधान अनुसार छानबिन नगरी एकलौटी रूपमा मन्त्री परिषद्को सिफारिसमा संसद विघटन गदै आगामी कार्तिक २७ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन घोषणा गर्नु भएको छ । निर्वाचनको घोषणा गरिए पनि वास्तविकतामा प्रधानमन्त्रीले आफ्नो सत्ता लम्बाउने र आफू प्रधानमन्त्रीको कुर्चीको बसी रहने प्रपञ्च रचिएको हो ।'

यस्तै विज्ञप्तिमा प्रतिनिधि सभालाई रातारात विगठन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक अलोकतान्त्रिक,स्वेच्छाचारी,निरङ्कुश र प्रतिगमनकारी कार्यको हामी घोर निन्दा र भर्त्सना गर्दछौ पार्टीहरूले भनेका छन् । प्रतिनिधि सभा विगठन गरी मुलुकमा अनिश्चित,अन्योल र अराजकता सृजना गर्ने प्रतिगमन कार्यको विरुद्धमा एकजुट भई नेपाली जनताको लामो आन्दोलन,सङ्घर्ष र बलिदानबाट स्थापित नेपालको संविधानमा अन्तर्निहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र,समावेशी लोकतन्त्र र नेपालको सर्वोपरि राष्ट्रिय हितको रक्षाका लागी दृढतापूर्वक अगाडी बढ्न हामी यस मुगु जिल्लाका सम्पूर्ण राजनैतिक दल,नागरिक समाज,सञ्चारकर्मी,मानव अधिकारवादी, बुद्धिजीवी,उद्योगी व्यापारी लगायत सम्पूर्ण जनसमुदायहरूलाई हार्दिक अपिल गर्दछौ भनिएको छ । 

विज्ञप्तिमा नेपाली काँग्रेस मुगुका सभापति खड्क बहादुर शाही,नेकपा(माओवादी केन्द्र)का अध्यक्ष शुकवीर बुढा,नेकपा एमाले (माधव–झलनाथ पक्ष) का मुगु सचिवालय सदस्य पारसमणि मल्ल,जनता समाजवादी पाटीका अध्यक्ष राज बहादुर भाम र राष्ट्रिय जनमोर्चा मुगुका अध्यक्ष जय बहादुर खड्काले दस्तखत गरेका छन् ।

बैठकले केन्द्रीय सर्कुलर अनुसार जिल्लामा सशक्त आन्दोलन गर्ने ,आन्दोलनमा आ आफ्ना भातृ, जन वर्गीय लगायत अन्य सङ्घ सङ्गठनहरूको व्यापक परिचालन गर्ने र केपी शर्मा वलीको सरकारले गरेका भ्रष्टाचार, अनियमितता, जनविरोधी कार्यको भण्डाफोर गर्ने पनि निर्णय भएको काँग्रेस प्रवक्ता लोकेन्द्र बहादुर शाहीले जानकारी गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ