arrow

अँध्यारो गोठ

logo
रितिका आचार्य,
प्रकाशित २०७८ जेठ १२ बुधबार
ritika-acharya.JPG

सधैँ आमालाई सताउँदै 
लुटपुटिएर निदाएकी,
तिखा कुहिनाले आमाको  
छातीमा बिझाएकी  
 
सानी थिई, 
दिन उज्यालो घामको किरणले  
रात न्यानो आमाको सिरानले  
इशारैले अलङ्कार बुझिदिन्थे  
कन्या भन्दै सबैले पुजिदिन्थे  
 
(तर आजको रात) 
उसलाई कसैले छुनभएन  
आमा पनि साथ हुनुभएन  
सारा संसार बिरानो भइदियो  
चिसो ढुङ्गाको सिरानी भइदियो  

घर पर गोठ छ, 
गोठ पर समसान छ  
हिजोका ती सुनौला रात, 
(उसलाई आज सुनसान छ ।) 
 
उसले सुनेका कथामा, 
दुर्गा, लक्ष्मी, देवी थिए  
तिनैलाई भकिन्थियो  
पवित्र हुने आशामा शिर 
तिनैका पाउमा रखिन्थियो  

व्रत पर्व हुँदो हो त  
ऊसँग नयाँ लुगा हुन्थ्यो  
शुभ कार्य थाल्नुअघि  
उसको समेत पूजा हुन्थ्यो  

(तर ऊ अहिले) 
एक्लै तारा गन्दै छे 
हृदयभरि  मर्म बोकी  
विद्धतालाई प्रश्न गर्दै छे  
 
नारीलाई देवी बताउने समाज  
उही देवी रिसाउने नाममा  
(किन, छोरीलाई छाउगोठ पठाउने गर्छ ??) 

मन्दिरभित्र जान निषेध  
मुहानको पानी खान निषेध, 
(उसको पाउले छोएको फललाई  
हिजो जसले प्रसादी भने) 
रजस्वलाको दुखाइले थिच्दा   
(तिनैले आज अपराधी माने .. ) 

ऊ सुन्छे ठुला भाषण 
अनि झुटा आश्वासन 
बजेट छुट्टिएको सुन्छे  
तर प्रथा जीवितै पाउँछे  

प्रकृतिको प्रक्रिया भन्छे  
र  सहर्ष स्विकारी दिन्छे 
अघि सम्मको अमूल्य जीवन  
(तुरुन्तै आफै धिक्कारी दिन्छे।) 

लुगलुग काँप्दै आँखाका  
गहभरि आँसु बोकी,
भिजेका ती निर्दोष नयन 
पुरै रात रुझ्ने पो हो कि  

रगतको ओछ्यान माथि  
सहनै मुस्किल चोटमा छे, 
(चिसो भुइँमा डरलाई जिती,)  
(ऊ अँध्यारो गोठमा छे ।।)

(आचार्य  विनायक कलेजअफ हेल्थ एन्ड साइन्स मध्यबानेश्वरमा अध्ययनरत छिन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ