arrow

काठमाडौं महानगरपालिकामा सङ्क्रमण दर ओरालो लाग्ने क्रममा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
kathmandu-metro-final-final.jpeg

काठमाडौं। काठमाडौं महानगरपालिका (कामपा)मा कोरोना भाइरसको सङ्क्रमण केही कम भएको छ  । विभिन्न अस्पतालहरूमा सङ्क्रमितको सङ्ख्या र परीक्षण गराउनेको सङ्ख्या कम भएसँगै सङ्क्रमण घटेको देखिएको हो ।

दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि कामपाले विभिन्न १२ वटा अस्पतालसँग सम्झौता गरी आवश्यक पर्ने स्वास्थ्य उपकरण र उपकरण खरिदका लागि आर्थिक सहयोग गरेको थियो । 

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार सम्झौता अनुसार सञ्चालनमा आएका ती अस्पतालमा अहिले बिरामीको सङ्ख्या घटेको हो ।महानगरका प्रत्येक वडामा परीक्षण गर्नेहरूको सङ्ख्यामा पनि कमी आएको छ । सबै वडामा एन्टीजेन परीक्षणको व्यवस्था रहेको प्रवक्ता डङ्गोलले बताए । 

पहिला दैनिक दुई तीन सय जनाले परीक्षण गर्ने क्रम रहेकोमा अहिले दैनिक तीस चालिस जनाले मात्रै परीक्षण गरिरहेको प्रवक्ता डङ्गोलको भनाइ छ ।यद्यपि, फेरि सङ्क्रमण बढ्न सक्ने र नयाँ भेरिअन्ट उत्पन्न हुने कुरालाई ध्यानमा राख्दै महानरले पूर्व तयारी भने गरिरहेको छ ।
   
कामपाको आर्थिक सहयोगमा सामाखुसीस्थित राधास्वामी सत्सङ्ग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १७४ शय्याको कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालनमा ल्याए पनि हाल उक्त स्थानमा १६ वटा शय्या मात्र सञ्चालनमा रहेको उनले बताएका छन् ।

त्यस्तै कामपाकै सहयोगमा सञ्चालित छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेदिक अस्पताल पनि जम्मा सङ्ख्याको २० प्रतिशत मात्रै कोरोनाका बिरामीले उपचार गराइरहेको कामपाको भनाइ छ । 
 
हाल कामपामा ६२ हजार ३८३ कोरोना सङ्क्रमित रहेकामा ५१ हजार १६७ जना निको भएका छन्, भने १० हजार ९५ होम आइसोलेशन र १८६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । 

त्यस्तै हाल १० हजार ७ सय ९७ सक्रिय सङ्क्रमितमध्ये ५१६ जनाले अस्पतामा उपचार गराइरहेका छन् । कोरोनाका कारण ४१९ जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख  छ ।

कोभिडका बिरामीलाई उपचारमा सहज होस् भन्ने हेतुले नागरिक हट लाइन ११८० बाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ । 

विरामीलाई अस्पतालमा पुग्न सहज होस् भनी कोभिड–१९ का बिरामीका लागि फोन नं १०२ मार्फत १० वटा र नन्कोभिड बिरामीका लागि १० वटा गरी कूल २० वटा निःशुल्क एम्बुलेन्स सेवा कामपाले सञ्चालनमा ल्याएको छ । यी माध्यमबाट हालसम्म २२ हजार कोभिड सङ्क्रमित बिरामी र १२ हजार नन्कोभिड बिरामीले सेवा लिएका छन् । 

कडा लकडाउनका कारण अहिले सङ्क्रमणमा केही न्यून भएको देखिए पनि सजगता अपनाउन जरुरी रहेको देखिन्छ । देशभरको संक्रमणदर अहिले पनि ४० प्रतिशतको हाराहारीमा छ । संक्रमणदर ५ प्रतिशतमा झर्नुलाई सङ्क्रमण न्यून भएको मान्न सकिने सङ्क्रामक रोग विज्ञहरू बताउँछन् ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ