- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। केन्द्रमा जनता समाजवादी पार्टीको महन्थ ठाकुर—राजेन्द्र महतो पक्ष सरकारमा गए पछि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले त्यसको तत्कालै प्रतिक्रिया प्रदेश २ सरकारमार्फत दिने भएका छन्। यादव निकट स्रोतका अनुसार यादवले प्रदेश २ सरकारमा सहभागी भएका ठाकुर—महतो पक्षका ४ मन्त्रीलाई सरकारबाट हटाउने भएका छन्। यस कामेकोलागि अध्यक्ष यादव अहिले जनकपुरमा पुगेका छन्। उनी सोमबार मात्र काठमाडौँ फर्कने छन्।
जनकपुर जानु अघि यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र काँग्रेसका नेता बिमलेन्द्र निधी सँग छलफल गरेका थिए । निधी सँग झन्डै ३ घण्टा लामो कुराकानी गरेका थिए।
प्रदेश २ सरकारमा ठाकुर पक्षबाट भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनाल, भौतिक पूर्वाधार राज्यमन्त्री डा.डिम्पल झा, पर्यटन तथा वन राज्य मन्त्री सुरेश मण्डल तथा सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा सहभागी छन्।
प्रदेश २ सरकारमा सहभागी ठाकुर पक्षका २ मन्त्रीले कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन्। सामाजिक विकास मन्त्री नवल किशोर साह र उद्योग, पर्यटन मन्त्री रामनरेश राय यादवले कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन्। उनीहरू जसपाका कार्यकारिणी समितिका सदस्य पनि हुन्। जेठ ८ गते उपेन्द्र यादव पक्षले बोलाएको कार्यकारिणी समितिको बैठकमा साह र यादव सहभागी भएका थिए। कित्ता परिवर्तन गरेकाहरूलाई भने उपेन्द्र यादवले नहटाउने भएका छन्।
स्रोतका अनुसार उपेन्द्र यादवले नेपाली काँग्रेस र माओवादी केन्द्रलाई प्रदेश २ सरकारमा ल्याएर पूर्व समाजवादीकै नेतृत्वमा नेतृत्वमा नयाँ समीकरण बनाउन पहल गरेका छन् । देउवा र निधी सँग भएको छलफलमा यादवले यस्तो प्रस्ताव राखेका थिए । निधीले भने यस पटक काँग्रेसलाई मुख्यमन्त्री दिन प्रस्ताव गरेका थिए । तर यादवको चाहना भने राउतकै नेतृत्वमा नयाँ समीकरण बनाउने रहेको यादव निकट स्रोतले बतायो।
प्रदेश २मा पूर्व समाजवादीको ३२ (कित्ता परिवर्तन गरेका २ जना सहित), पूर्व राजपाको २३, एमालेको २१ र नेपाली काँग्रेसको १९, पूर्व माओवादीको ८ सिट छ। १ सय ७ सदस्यमध्ये ३ जना सदस्यलाई माओवादीले कारबाही गरेको छ । बाँकी रहेको १सय ४सदस्यमा ५३ सदस्य भए प्रदेश २ सरकार बनाउन बहुमत पुग्छ। त्यसैले प्रदेश २मा नेपाली काँग्रेस, पूर्व समाजवादी र माओवादी केन्द्र मिले प्रस्ट बहुमत पुग्छ।
प्रदेश २का नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रदेश २का मुख्य मन्त्री राउतले काँग्रेसलाई सरकारमा आउन आग्रह गरेको बताए । ‘मुख्यमन्त्रीज्युले पूर्व राजपाका मन्त्रीहरूलाई हटाई नेपाली काँग्रेस र माओवादीको सहयोगमा आफ्नै नेतृत्वमा नयाँ समीकरण बनाउन प्रस्ताव गर्नु भएको छ’ यादवले भने,‘पूर्व राजपाका मन्त्रीहरूलाई सरकारबाट हटाए पछि यसबारेमा छलफल गरौला भनेको छु ।’
प्रदेश २मा मुख्यमन्त्रीको दाबी नेपाली काँग्रेसले गरेको पनि उनले बताए । ‘हामीले मुख्यमन्त्रीको दाबी गरेका छौ । तर छलफल पछि कसको नेतृत्वमा जाने भन्ने टुङ्गो लाग्छ ।’यादवको आशय सरकारमा जान सक्ने थियो।