arrow

यस्तो छ प्रदेश २ को नीति तथा कार्यक्रम

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ जेठ २७ बिहिबार
ahija.JPG

जनकपुरधाम । प्रदेश २ ले आर्थिक वर्ष २०७८/०७९का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  बिहीबार प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशसभामा प्रस्तुत गरिएका नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष जोड दिइएको छ  ।

यसका अतिरिक्त नीति तथा कार्यक्रममा चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमहरूको निरन्तरता रहे पनि केही नयाँ कार्यक्रमहरु समेत समावेश छ । सङ्घीय सरकारले व्यापार घाटा न्यूनीकरणका लागि चुरे क्षेत्रबाट गिट्टी बालुवा उत्खनन गर्ने गरी बजेट नै प्रस्तुत गरेको समयमा प्रदेश २ सरकारको नीति तथा कार्यक्रममा चुरे संरक्षणमा विशेष जोड दिइएको छ  ।

प्रदेश २को प्रदेशसभामा प्रदेश प्रमुख  राजेश झा अहिराजले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चुरे विनाशबाट प्रदेशका साथै पुरै देश मरुभूमि तर्फ अग्रसर हुने भएकाले चुरे संरक्षणका लागि कानुनी तथा प्रशासनिक नीति अवलम्बन गर्ने उल्लेख गरेर सङ्घ सरकारलाई काउन्टर दिएका छन् ।चुरेको फेदमा हरियो वन विकास, चुरे क्षेत्रमा जलाशय निर्माण लगायतका नीति अपनाइने बताइएको छ । यसका साथै नदिको बालुवा, ढुङ्गा आदि ढुवानीमा नियन्त्रण गर्ने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ  ।

नीति तथा कार्यक्रममा सबैभन्दा बढी जोड स्वास्थ्य क्षेत्रमा दिइएको हो। स्वास्थ्य क्षेत्र अन्तर्गत कोरोना परीक्षणको दायरा फराकिलो बनाइने, पूर्ण खोप प्रदेश अभियान चलाइने, दलित तथा सीमान्तकृत समुदायलाई नि:शुल्क स्वास्थ्य सुविधा उपलब्ध गराइने नीति लिइएको छ । त्यस्तै जनकपुरधामको प्रादेशिक अस्पताललाई ५ सय शय्याको अस्पतालको रूपमा विकास गरिने, ८ वटै जिल्लामा कम्तीमा एउटा स्वास्थ्य तथा आरोग्य केन्द्रको स्थापना गरिने छ । यसका साथै प्रदेशको स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन प्रदेशको आफ्नै स्वास्थ्य नीति ल्याइने, स्वास्थ्य क्षेत्रमा सुशासन र पारदर्शिता ल्याउन प्रभावकारी कदमहरू चालिने नीति तथा कार्यक्रममा उल्लेख रहे छ । 

गणतन्त्रवादी नेता द्वय दुर्गानन्द झा र रामराजा सिंहका साथै गजेन्द्रनारायण सिंहको शालिक निर्माण गरिने छ । प्रदेश सरकारले कोरोना महामारीका कारण उत्पन्न बेरोजगारी समस्या समाधान गर्नका लागि अध्ययन गरेर प्रदेशमै रोजगारी सृजना गर्ने भएको छ । यसका लागि मझौला उद्योगहरूलाई प्रोत्साहन गरिने, वैदेशिक रोजगारबाट फर्केका युवाहरूका लागि नवप्रवर्द्धन कृषि परियोजनालाई निरन्तरता, कृषि बिमा कार्यक्रम, कृषि सडक निर्माण, कृषिमा आधुनिकीकरण लगायतका कार्यक्रमहरु ल्याइने छन् ।

हाम्रो प्रदेश, उज्यालो प्रदेश नाराका साथ प्रदेशलाई उज्यालो बनाउन ३ सय मेगावाट सौर्य ऊर्जा प्लान्टको स्थापना गर्ने नीति पछिल्लो वर्षहरू जस्तै यस वर्ष पनि नीति तथा कार्यक्रममा निरन्तरता पाएको छ ।

प्रदेश सरकारले आर्थिक रूपमा विपन्न, दलित तथा मुस्लिम छात्राहरूको शैक्षिक स्तर उकास्नका लागि विशेष छात्रवृत्ति कार्यक्रम, प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा रहेको जनकपुर अञ्चल अस्पताललाई प्रदेश नमुना अस्पतालको रूपमा विकसित गर्न ५ सय शय्यासम्म पुर्‍याउने, जिल्ला अस्पतालहरूको स्तरोन्नति गर्ने, एउटा ट्रमा सेन्टरको स्थापना लगायतका कार्यक्रमहरूले निरन्तरता पाएका छन् । यद्यपि यस वर्षको नीति तथा कार्यक्रममा प्रदेशमा २ वटा ट्रमा सेन्टर स्थापना गर्ने नीति लिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ