युरो–२०२० मा ११ को संयोग, यस्तो छ समूह, खेलस्थल र तालिका
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
1.2k
Shares
काठमाडौं । युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण युरो–२०२० शुक्रबारबाट शुरु हुँदैछ । प्रतियोगिता गत वर्षमै हुनुपर्ने भए पनि विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला गरी शुरु हुन लागेको हो । यस अर्थमा पनि नाम युरो–२०२० राखिएको हो ।
यसपालिको युुरोकपमा ११ को संयोग बढी नै देखिएको छ । अर्थात् ११ देशका ११ शहरमा प्रतियोगिता हुँदैछ । २४ टिमबीचको युरो–२०२० प्रतियोगिता ११ जुनदेखि ११ जुलाईसम्म हुँदैछ । ११ देशहरुको सेरोफेरो ४ हजार ७६६ किलोमिटरको हुनेछ ।
प्रत्येक समुहको विजेता र उपविजेतासँगै तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट चार टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् ।
शुक्रबार राति १२ः४५ बजे हुने उद्घाटन खेल इटाली र टर्कीबीच इटालीको रोममा हुन लागेको हो । किन यसरी ११ देशमा प्रतियोगिता हुन लाग्यो त ?
आयोजक युरोको सहज जवाफ छ ‘प्रतियोगिता आयोजनाको ६० वर्ष पूरा भएको उपलक्ष्यमा यस पटकको युरोकप विभिन्न ११ राष्ट्रका ११ शहरमा हुन लागेको हो ।’
यस पटक रोमसहित ग्लास्गो, एम्सटरडम, बाकु, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, म्युनिख, सेभिल्ला, सेन्ट पिटर्सबर्ग र लण्डनमा हुनेछ । फाइनल खेल ११ जुलाईको राति लण्डनको वेम्ब्ले रंगशालामा हुनेछ ।
इङ्गल्याण्डको लण्डनको वेम्बली रंगशालामा समूह चरणका तीन, अन्तिम १६ का दुई, दुवै सेमिफाइनल र फाइनल गरी कुल आठ खेल सञ्चालन हुनेछन् ।
इटालीको रोमको स्टाडियो ओलिम्पिक रंगशालामा उद्घाटनसँगै समूह चरणअन्तर्गत समूह एका अन्य दुई खेल र एक क्वार्टरफाइनल गरी चार खेल सञ्चालन हुनेछन् ।
जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा समूह चरणका तीन र एक क्वार्टरफाइनल गरी कुल चार खेल हुनेछन् ।
बाकुस्थित बाकु ओलम्पिक स्टेडियमा समूह चरणका तीन र एक क्वार्टरफाइनल गरी चार खेल हुनेछन् ।
सेन्ट पिट्सबर्ग रंगशालामा समूह चरणमा दुई समूहका तीन–तीन गरी ६ तथा एक क्वार्टरफाइनल गरी सात खेल आयोजना हुनेछन् ।
बुडापेस्टस्थित पुस्कास रंगशालामा समूह चरणका तीन र अन्तिम १६ को एक गरी चार खेल आयोजना हुँदैछन् ।
बुचारेस्टस्थित एरेना नेस्नोलामा समूह सी का तीन र अन्तिम १६ को एक गरी चार खेल आयोजना हुँदैछन् ।
आम्स्ट्रडमस्थित योहान क्रुफ रंगशालामा युरो कपका समूहका तीन र अन्तिम १६ को एक गरी चार खेल हुँदैछन् ।
सेभिल्लाको ओलम्पिक स्टेडियममा समूह चरणका ३ तथा अन्तिम १६ को १ गरी ४ खेल हुनेछन् ।
ग्लोस्गोस्थित हाम्पाडेन पार्कमा समूहका तीन र अन्तिम १६ को एक गरी चार खेल आयोजना हुँदैछन् ।
कोपेनहेगनस्थित पारकेन रंगशालामा समूह बीका तीन र अन्तिम १६ को एक गरी चार खेल हुनेछन् । यो जारी प्रतियोगिताको सबैभन्दा सानो रंगशाला हो ।
कुन समूहमा कुन टिम ?
समूह ए – इटाली, टर्की, वेल्स, स्वीटरजरल्याण्ड
समूह बी – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रुस
समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी – इङ्गल्याण्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक गणतन्त्र
समूह ई – स्पेन, स्वीडेन, पोल्याण्ड, स्लोभाकिया
समूह एफ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी