arrow

खोलाले बगाउँदा एक बच्चासहित महिला बेपत्ता 

logo
दयाराम पण्डित,
प्रकाशित २०७८ जेठ ३१ सोमबार
Baulikholo bauliyo.jpg

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका वडा नं पाँचमा किम्नी खोलाले बगाउँदा सोही वडाका एक जना बालक बेपत्ता भएका छन् । यसरी बेपत्ता भएका बालकको खोजी गर्न मौरे प्रहरी चौकीबाट प्रहरी परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिएका छन्। बालकको नाम भने खुलेको छैन प्रहरी नायब उपरीक्षक महराले बताए ।
 
यसै गरी जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा सोमबार सविहान गाउँ नजिकैको खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका-३ लौठा रुखकी अन्दाजी ३६ बर्सिया मोतीकला ल्वार रहेकी छन् । आइतबारबाट आएको लगातारको अविरल वर्षासँगै सोमबार बिहान खोलामा आएको बाढीले बगाउँदा उक्त महिलालाई बेपत्ता पारेको हो । 

बडीगार्ड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा खोलाले बगाएर बेपत्ता पारेको स्थानीय धनबहादुर बोहराले बताए ।  बेपत्ता ल्वारको खोजी कार्य भए पनि नभेटाएको स्थानीयले बताएका छन् । बेपत्ता भएकी महिलाका तीन छोराछोरी बिचल्लीमा परेको बोहराको भनाई छ । बेपत्ता महिलाका श्रीमानले अर्को विवाह गरेर भारतमा गएको स्थानीयले बताए । 

खोलाले बगाएर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय कोल्टीको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ । बाजुरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षका कारण बाहुली खोलाले सदरमुकाम मार्तडीको नहर बालुवाले पुरिदा विद्युत् सेवा अनियमित भएको छ भने बडिमालिका नगरपालिका वडा नं दुई घारमा पहिरोले रुख ढाल्दा विद्युत् पोल भाँचिएको छ । 

“बाजुरामा निरन्तर झरी वर्षा भइरहेकोले एक्कासि खोला बढ्ने र पहिरो जान सक्ने हुँदा खोला आसपास र बाढी पहिरोको उच्च जोखिम हुनसक्छ । तसर्थ उक्त स्थानमा कोही कसले पनि आवतजावत नगर्न नगराउन सर्वसाधारणमा अपिल गर्दर्छौं  ” सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने । 
 



नयाँ