arrow

गलत हल्ला फैलिएपछि ६३ प्रतिशत ज्येष्ठ नागरिकले लगाएनन् खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
corona-vaccine-covid.jpg

वीरगन्ज । पर्सामा ६३ प्रतिशत ज्येष्ठ नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् । चिनियाँ खोप भेरोसेलले शरीरमा नकारात्मक प्रभाव पर्न सक्ने गलत हल्ला फैलिएपछि  लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र खोप लगाएका छन् ।

भेरोसेल खोपले शरीरमा नकारात्मक प्रभाव पर्न सक्ने गलत हल्ला फैलिएपछि जिल्लामा ६३ प्रतिशत लक्षित वर्गले सो खोप लिन नमानेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले  बताए ।

सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन गरेको निर्देशनानुसार पर्सामा गत शुक्रवार र शनिवार सञ्चालन गरेको खोप केन्द्रबाट लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र खोप लगाएका हुन् । 

पर्सामा १२ हजार ३ सय नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । यसका लागि वीरगन्ज महानगरपालिकालगायत १४ वटै स्थानीय तहको वडा स्तरमा १०२ खोप केन्द्र सञ्चालन गरिएको थियो । सो केन्द्रबाट चार हजार ५५४ ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
 
 लक्षित वर्गका लागि सङ्घीय सरकारबाट १० हजार ८३० डोज भेरोसेल खोप प्राप्त भएको सो कार्यालयले जनाएको छ । आज पुनः खोप कार्यक्रम सञ्चालन गरिने सो कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार जिराभवानी गाउँपालिकामा १५४, जगरनाथपुर गाउँपालिकामा १६४, छिपहरमाई गाउँपालिकामा ६१, धोबिनी गाउँपालिकामा ४८, पकहामैनपुर गाउँपालिकामा  ५७, बिन्दबासिनी गाउँपालिकामा १९८, बहुदरमाई गाउँपालिकामा ३३० र ठोरी गाउँपालिकामा २०० ज्येष्ठ नागरिकले सो खोप लिएका छन् । गलत हल्लाको पछि नलागेर लक्षित वर्ग सबैलाई खोप लिन जिल्ला जनस्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ