arrow

(अपडेट) मेस्सीको अग्रताले पनि जितेन अर्जेन्टिना, रोकियो चिलीसँग बराबरीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
copa-america-2021-argentina.jpg

काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेको हो । 

ब्राजिलमा जारी प्रतियोगिताको सोमबार राति भएको पहिलो खेलमा अर्जेन्टिना १–१ गोलको बराबरीमा रोकिएको हो । 

ओलम्पिक निल्टन सान्तोस स्टेडियममा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेल्न वाध्य भएको हो । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई शुरूआती अग्रता दिलाएका थिए ।

मेस्सीले उत्कृष्ट गोल गरेसँगै देशका लागि ७३ गोलको कोशेढुङ्गा पनि पार गरेका छन् । मध्यान्तरसम्म अग्रतामै रहेको अर्जेन्टिनाले ५७ औं मिनेटमा बराबरी गोल खायो । 

एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए  । अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि आएको रिबाउन्ड बलमा भर्गासले गोल गरेका हुन् ।

खेलका क्रममा चिलीका तीन तथा अर्जेन्टिनाका दुई खेलाडीले पहेँलो कार्ड खाएका थिए । समूह ए को अर्को खेलमा पाराग्वेले खेल जितेको छ । 

१–० ले पछि परेको पाराग्वेले ६२ देखि ८० मिनेटको अवधिमा ३ गोल गरेर ३–१ गोल अन्तरले खेल जितेको छ । 

१० मिनेटमै एरविन साभेद्राले गोल गरेर बोलिभियालाई अग्रता दिलाए पनि ४५ औं मिनेटमा कुएलारले दोहोरो पहेँलो कार्ड खाएर बाहिरिएपछि टिम दश जनामा सीमित भयो । 

त्यसको फाइदा उठाउँदै पाराग्वेले सहज जित निकाल्यो । एन्जेल रोमेरोले २ तथा एलेजान्द्रो रोमेरोले १ गोल गरे । जितसँगै समूह ए मा पाराग्वे ३ अंकसहित शीर्ष, अर्जेन्टिना १ अंकसहित दोस्रो तथा चिली १ अंकबाटै तेस्रो छ । बोलिभिया पुछारमा छ । 

यसअघि समूह बी को खेलमा आयोजक ब्राजिलले विजयी शुरूआत गरेको थियो । ब्राजिलले भेनेजुएलालाई ३–० ले तथा कोलम्बियाले इक्वेडरलाई १–० गोल अन्तरले हराएको थियो । 



नयाँ