- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मुगु । गैर आवासीय नेपाली सङ्घ अफ्रिकाले विकट हिमाली जिल्ला मुगुलाई अक्सिजन सहितको सिलिन्डर सहयोग गरेको छ । एनआरएनए अफ्रिकाले सहयोग गरेका ७० किलोका १० थान अक्सिजन सहितका सिलिन्डर जिल्ला अस्पताल मुगुलाई हस्तान्तरण गरिएको हो ।
एनआरएनए अफ्रिकाले सहयोग गरेका भरी सिलिन्डर पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले जिल्ला अस्पताल मुगुका एम.डि चिकित्सक कबिर पौडेललाई मङ्गलवार हस्तान्तरण गरेका थिए ।
सुविधा सम्पन्न ठाँउहरुमा विकल्प हुने भए पनि दुर्गम जिल्लाहरूमा कोही बिरामी परे अक्सिजनको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तरगत मुगु जिल्ला अस्पताललाई १० थान सिलिन्डर सहयोग गरेको अध्यक्ष मल्लले बताए ।
भैरहवाबाट पठाइएका उक्त सिलिन्डरहरू मुगुसम्म पुर्याउने स्थानीय रूपमा संयोजन पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल,अछाम पत्रकार महासङ्घका स्थापक अध्यक्ष वेद प्रसाद तिम्सिना र एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले गरेका थिए । अभियान अन्तरगत बोत्स्वाना अध्यक्ष पदम भण्डारी,कङ्गो अध्यक्ष अमृत क्षेत्री,मोजाम्विक अध्यक्ष सारदा पौडेल राय, एनआरएनए समन्वय समितिहरू र सदस्यहरूले अक्सिजन सिलिन्डर खरिदका लागी सहयोग गर्नु भएको हो ।
जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जान थालेपछि सक्रिय बिरामीहरूलाई जिल्लामा अक्सिजन अभाव नहोस् भनेर सहयोगका लागी एनआरएनए अन्तर्राष्ट्रिय समितिका पूर्व कोषाध्यक्ष तथा विश्वको एघारौँ धनी नाइजेरियाको डांगोटे ग्रुपका खाद्य सेक्टरका महाप्रबन्धक हिकमत थापासँग पत्रकार नृपेन्द्र बहादुर मल्ल र धरानका कृष्ण प्रसाद कोइरालाले सम्पर्क गरेपछि थापाले विकट हिमाली जिल्ला मुगुमा अक्सिजन सहितका सिलिन्डर पठाउन सहयोग जुटाएका थिए ।
भैरहवाबाट नेपालगन्जसम्म अछाम पत्रकार महासङ्घका स्थापक अध्यक्ष वेद प्रसाद तिम्सिना र नेपालगन्जबाट मुगु सम्म छायानाथ बचत तथा ऋण सहकारी संस्था मुगुले ढुवानी सहयोग गरेका छन् ।राज्यले दूर दराजका जनतालाई सेवा दिन नसकिरहेको अवस्थामा निजी क्षेत्रबाट प्रवासमा रहेका नेपाली दाजुभाइहरूले गरिब,निमुखा जनताको जीवन बचाउन गरेको सहयोग साँच्चै भगवान् नै साक्षर उपस्थित भए जस्तै भएको र आगामी दिनमा पनि गरिब,निमुखा,दुर्गमका जनताका आई पर्ने विभिन्न समस्यामा मलम लगाउन सहयोग गरिदिन पनि चिकित्सक कबिर पौडेलले आग्रह गरे ।