arrow

इटाली युरोकपको राउन्ड अफ सिक्सटिनमा पुग्ने पहिलो टिम, स्वीट्जरल्याण्ड निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
euro-2020-italy.JPG

काठमाडौं । इटाली १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिनमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । घरेलु रोमको मैदानमा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई ३–० गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो ।

इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । त्यस्तो सिरो इमोबाइलले एक गोल गरे । निरीह देखिएको स्वीट्जरल्याण्डलाई पराजित गर्ने क्रममा १९ मिनेटदेखि नै इटाली हावी हुन खोजेको थियो । 

तर जर्जियो चेलीनीले गरेको गोलले मान्यता पाएन । उनले गोल गर्नुअघि ह्यान्डबल गरेको कारण गोलले मान्यता नपाएको हो । २६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई शुरूआती अग्रता दिलाए । 

पहिलो हाफसम्म १–० ले अग्रतना लिएको इटालीले दोस्रो हाफमा दुई गोल गरे । ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए । ८९ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई ३–० को जित दिलाउन सफल भए । 

सन् २०१८ को रुस विश्वकप खेल्न नपाएको इटालीले त्यसपछि भने संयमित खेल खेलिरहेको छ । इटालीले लगातार १० जितको रेकर्ड राखिसकेको छ । 

जारी युरोकपमा लगातार दुई जितसहित समूह ए को इटाली प्रिक्वार्टरफाइनल पुग्ने पहिलो टिम बनेको छ । यसअघि पहिलो खेलमा टर्कीमाथि पनि ३–० गोल कै जितसहित इटालीले विजयी शुरूआत गरेको थियो । 

जितसँगै इटाली ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ । वेल्स ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । वेल्सले टर्कीलाई २–० गोल अन्तरले हरायो । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग वेल्सले १–१ को बराबरी खेलेको थियो । 

तेस्रो स्थानको स्वीट्जरल्याण्डको १ अंक छ भने अंकविहीन टर्की पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ