arrow

बेल्जियम लयमा, सहजै नकआउट चरणमा, डेनमार्क संकटमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
euro-2020-belgium1.jpg

काठमाडौं । बेल्जियम युरोपका ११ राष्ट्रको संयुक्त आयोजनामा भइरहेको १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिनमा पुगेको छ । उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जितसहित बेल्जियम नकआउट चरणमा पुगेको हो । 

कोपनहेगनको पार्केन स्टेडियममा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै बेल्जियम लगातार दोस्रो जित निकाल्न सफल भएको हो । 

बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डे ब्रुएनाले एक एक गोल गरे ।

खेलमा शुरूआती अग्रता लिएको भए पनि डेनमार्क हार जोगाउन असफल भयो र खेलको दोस्रो मिनेटमै घरेलु डेनमार्कले युसुफ पाउलसेनमार्फत अग्रता लिन सफल भएको थियो । 

तर ५५ औं मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १–१ गोलको बराबरीमा ल्याए । ७१ औं मिनेटमा ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २–१ को जित दिलाए । 

जितसँगै समूह बी को बेल्जियमले २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेर एक खेलअघि नै नकआउटमा स्थान बनाएको छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले हराएको थियो ।

डेनमार्क भने अप्ठेरोमा परेको छ । लगातार दोस्रो हारसहित डेनमार्कको अर्को चरण प्रवेशको सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा डेनमार्क नवप्रवेशी फिनल्याण्डसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

रुस र फिनल्याण्डको समान ३–३ अंक रहेको छ । अन्तिम चरणमा बेल्जियमले फिनल्याण्डसँग र रुसले डेनमार्कसँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ