- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-१२, लामिदमारमा ७ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लामिदमारकै ३१ वर्षीय कीर्तिमान गोले रहेका छन् ।
गोलेले मावली घरमा हजुरआमासँगै बस्ने ती नाबालिगकालाई गएको वैशाख १० गते चाउचाउ दिन्छु भन्दै ललाइफकाइ नजिकै आफन्तको खाली घरमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । बालिकाका बुवा आमा ज्याला मजदुरीका लागि लालबन्दीमा बस्दै आएका छन् ।
बुवा आमा हिजो घर फर्किएपछि बालिकाले आफूमाथि किर्तिमानले करणी गरेको बताएकी थिइन् । सो घटनाबारे पीडित परिवारले शुक्रवार बेलुका बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जमा जानकारी गराएका थिए ।
घटनाबारे जानकारी पाउनासाथ शुक्रवार बिहान बयलवासबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको नेतृत्वमा त्यसतर्फ गएको प्रहरीले आरोपी कीर्तिमानलाई घरबाटै पक्राउ गरेको हो । कीर्तिमान विरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक ढुङ्गानाले पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्य परीक्षणका जिल्ला अस्पताल मलङ्गवातर्फ लान लामिदमार क्षेत्रमा अहिले कुनै गाडी नचल्ने भएकाले बालिका र उनका अभिभावकलाई प्रहरीकै गाडीमा राखेर ल्याइएको जानकारी दिए ।
लामिदमार ईश्वरपुर नगरपालिका वडा नं. १२ कालिन्जोर घारिबथानको विकट क्षेत्रमा पर्ने गाउँ हो । घारिबथानबाट गाडीमा बाँके खोलाको बाटो हुँदै लामिदमार पुग्न एक घण्टा भन्दा बढी समय लाग्ने गरेको छ ।