arrow

भिरबाट लडेर घाइते ललिताको पाँच दिनपछि उद्धार 

logo
दयाराम पण्डित,
प्रकाशित २०७८ असार ६ आइतबार
bajura-airport-.JPG

बाजुरा । भिरबाट लडेर सख्त घाइते भएकी बुढिनन्दा नगरपालिका एक बस्ने १६ वर्षीय ललिता गिरीलाई पाँच दिनपछि आइतबार बिहान  हेलिकोप्टर मार्फत उद्धार गरेर काठमाडौँ लगिएको छ । प्रतिकुल मौसमका कारणले पाँच दिनपछि मात्र किशोरीको थप उपचारका लागि काठमाडौँ उद्धार भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। 
   
आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको  आर्थिक सहयोगमा र बुढिनन्दा नगरपालिका र  जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा उक्त किशोरीलाई उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिए ।

निरन्तरको प्रयासरत थियौँ, हेलिकप्टर नपाएकोले ढिला भएको थियो । शनिवार दिउँसो कोल्टिला हेलिकप्टर पुगे पनि मौसम खराबीले उड्न सकेको थिएन । आइतबार बिहान मात्र मौसममा केही सुधार भएपछि उद्धार भएको र उक्त सबै रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तिर्ने सामाजिक विकास मन्त्री पूर्णा जोशीले बताए ।

 गाउँ नजिकै रहेको रुपासैनी भिरमा घाँस काटिरहेको बेला बुधवार साँझ भिर बाट लडेर ललिता गम्भीर घाइते भएकी हुन् । उनलाई तत्काल आफन्तले बोकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्या‍एका थिए । उनको चार दिन सम्म कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको थियो । उनको टाउको, घाटी र ढाडमा गम्भीर चोट लागेको स्वास्थ्यकर्मीले बताएका छन् । 

 त्यहाँ सम्भाबना नभएको भन्दै ललितालाई थप उपचारका लागि काठमाडौँ लग्न प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको थियो । ललितालाई कोल्टिला अक्सिजनको सहायतामा उपचार भइरहेको थियो । बुधवार अपरान्न भिरबाट लडेर ललिता घाइते भएकी हुन् । उनी अहिले पनि अर्ध अचेत अवस्थामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले वताएको छ ।

बिहीबार देखि हवाई उद्धारका लागि पहल भएको भए पनि प्रतिकुल मौसममा कारण हेलिकप्टर उड्न नसकेको आफन्त ढकराज गिरीले बताए । शुक्रवार नेपाली सेनाको हेलिकप्टर सदरमुकाम मार्तडीमा उद्धारका लागि पुगेको भए पनि कोल्टी भने जान सकेको थिएन । मार्तडी बाट उडेर पनि पोरखे लेखमा कुहिरोका कारण कोल्टी जान नसकेर फिर्ता भएको हो । आइतबार बिहान मनाङ ऐयरको हेलिकप्टर मार्फत किशोरीलाई काठमाडौँ लगिएको हो ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा डिकेन्द्र सञ्ज्यालले भने  उनलाई अहिले दुखाइको महसुस भए पनि अरू कुनै कुराको महसुस नभएको बताए । अक्सिजन लेबल निकै घटेको छ ।  घाइते ललिता हाल चन्दनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेकी छन् । 
 



नयाँ