arrow

विद्यालय जान हिँडेका शिक्षक आइतवारदेखि बेपत्ता, खोजी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
teacher1.png
सांकेतिक तस्विर ।

म्याग्दी। विभिन्न सङ्घ, सङ्गठनले रहस्यमय रूपमा बेपत्ता बनाइएका जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् । बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक कार्की आइतबार साँझदेखि बेपत्ता छन् । विद्यालय नजिकै म्याग्दी नदीको किनारमा रगतका दाग, कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

म्याग्दीस्थित नेपाल शिक्षक महासङ्घ, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले मङ्गलवार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई बेपत्ता कार्कीको खोजी गरी घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । 

शिक्षक महासङ्घ म्याग्दीका अध्यक्ष जयराम सुवेदीको नेतृत्वमा शिक्षक सङ्घ सङ्गठनका प्रतिनिधिहरूले प्रशासनमा पुगेर ध्यानाकर्षण गराएका थिए । बौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालन भएको बालजागृति आधारभूतका प्रअ कार्की साहित्यसँगै विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ । 

यसैगरी म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्मा, सूर्यनारायण पुरस्कार संस्थाका सचिव अजयमिलन श्रेष्ठ र पुलत्स्य साहित्य समाजका अध्यक्ष कृष्णबहादुर बानियाले मङ्गलवार नै संयुक्त विज्ञप्ति जारी गर्दै बेपत्ता कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् । 

पौलस्त्य साहित्य समाज, म्याग्दीका संस्थापक अध्यक्ष-संरक्षक, म्याग्दी साहित्य समाजका सल्लाहकार कार्की जनसाहित्य मञ्च नेपालका केन्द्रीय सदस्य हुन् । मञ्चका अध्यक्ष राम विनयले पनि मङ्गलवार एक विज्ञप्ति जारी गरेर बेपत्ताको खोजीको माग गरेका छन् । 

कार्कीलाई बेपत्ता बनाएको अभियोगमा प्रहरीले बेनी नगरपालिका–५ चुत्रेनीका एक युवालाई कुश्माबाट पक्राउ गरेको छ । विद्यालयमा कार्यरत अन्य दुई कर्मचारीसँग पनि प्रहरीले निरन्तर सोधपुछ गरिरहेको छ । पक्राउ परेका कसैको पनि नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
 
आइतबार बगुवाखोलामै देखिए पनि पक्राउ परेका व्यक्ति घटनापछि हिँडेरै कुश्मा पुगेका बताइएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले अनुसन्धानकै क्रममा रहेकाले हत्या अथवा बेपत्ता भन्ने खुलिनसकेको बताए । 

“घटनास्थलको प्रकृति हेर्दा कर्तव्य ज्यान गरेको जस्तो देखिन्छ”, उनले भने, “बेपत्ताको खोजीसँगै शङ्कास्पद व्यक्तिहरूसँग सोधपुछ र अनुसन्धानलाई निरन्तरता दिएका छौँ ।” बेपत्ता कार्कीको खोजीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ । नदी किनार र सम्भावित ठाउँमा निगरानी बढाइएको छ । 

कपडा भेटिएको ठाउँ नजिकै स्काभेटरले खोलाको बहाव फर्काएर पनि खोजी गरिएको थियो । आइतबार बिहान ८ बजे घरबाट विद्यालय जान भनेर निस्किएका कार्की साँझ घर नआएपछि परिवारले खोजी थालेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ