arrow

फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
fauji-kira.PNG
फाइल तस्बिर

भोजपुर। अमेरिकन फौजी किराले मकै बाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण अभियान थालेको छ। फौजी किराका कारण समस्या परेका कृषकलाई लक्षित गाउँपालिकाले कृषकलाई निःशुल्क विषादी वितरण गरेको हो।

गाउँपालिकाको तल्लो भेगका अधिकांश किसानको मकै बाली किराले नष्ट पार्न थालेपछि विषादी वितरण अभियान थालेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। उनले भने, “फौजी किराका कारण किसानका मकै बाली नष्ट भएको जानकारी आएपछि हामीले प्राविधिक पठाएर उहाँहरूको समस्या समाधान गरिरहेका छौँ। अहिले गाउँपालिकाले किरा मार्नका  लागि निःशुल्क विषादी वितरण गरिरहेको छ । विषादी वितरण गरेसँगै किरा नियन्त्रणमा आएको छ।”

गाउँपालिकाको सानोदुम्मा, ठुलोदुम्मा, बास्तीम, च्याङ्ग्रेलगायत ठाउँमा फौजी किराको प्रकोप रहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ। किसानको समस्या समाधानका लागि आवश्यक सहयोग गरिरहेको शाखाको भनाइ छ।

गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले भने, “सयौँ रोपनी क्षेत्रफलमा किराको प्रकोप देखिएको छ, नियन्त्रणका लागि हामीले आवश्यक पहल थालेका छौँ। पछिल्लो समयमा धेरै हदसम्मका किरा नियन्त्रणमा आएको छ।”

गाउँपालिकाले वडा स्तरबाट कृषकलाई आवश्यक विषादी दिने व्यवस्था मिलाएको छ भने गाउँपालिका केन्द्रबाट पनि विषादी वितरण हुँदै आएको छ। गाउँपालिकाले प्रकोपको बेलामा निःशुल्क विषादी दिएपछि स्थानीय कृषक खुसी भएका छन्। स्थानीय कृषक बलबहादुर तामाङले भन्नुभयो, “गाउँभरि नै किराको प्रकोप छ। चार सयभन्दा बढी कृषकको मुख्य बाली मकैमा किराले क्षति पुर्‍याएको छ। मकैको गुबो सबै सखाप बनाएको छ। हाम्रो पीडालाई ध्यानमा राख्दै गाउँपालिकाले विषादी दिएकोप्रति हामी खुसी छौँ।”

किसानका लागि आवश्यक पर्ने मलसमेत यस वर्ष समयमा नै वितरण भएको गाउँपालिकाको भनाइ छ। जिल्लाको बेँसी क्षेत्रका अधिकांश भागमा यस वर्ष पनि फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।



नयाँ