युवक सङ्घले सिडिओ मार्फत प्रम ओलीलाई बुझायो ६ बुँदे ज्ञापन पत्र
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
980
Shares
डोटी । अखिल नेपाल युवक सङ्घ डोटीले विभिन्न ६ बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाएको छ ।
शुक्रवार राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक सङ्घ डोटीले डोटीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको हो ।
केपी ओली नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्यमान्यता विपरीत, असंवैधानिक ढङ्गबाट संसद विघटन गरी स्वेच्छाचारी शासन चलाउने प्रतिगामी कदम सच्चाउन सङ्घले माग गरेको छ ।
कोरोना महामारीबाट आक्रान्त नागरिकहरूको सहुलियतपूर्ण उपचार, उपचार सामग्रीहरूको उपलब्धता, सबै नागरिकलाई कोभिड विरुद्धको खोपको व्यवस्था, महामारीबाट प्रभावितहरूलाई उचित राहतको व्यवस्था गर्न, प्रकोपका कारणले जोखिमयुक्त घर–बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, विकासका संरचना बनाउनु पूर्व राम्रो अध्ययन गर्न, प्राकृतिक प्रकृतिका कारण आगामी दिनमा हुन सक्ने दुर्घटना रोक्न दीर्घकालीन योजना बनाउन माग गरिएको छ ।