arrow

युरो फुटबल: 'राउण्ड अफ सिक्सटिन'का खेलहरू सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १२ शनिबार
Euro-ros-knockout.jpg

काठमाडौं। सोह्रौँ संस्करणको  युरो फुटबलमा दोस्रो चरण (राउण्ड अफ सिक्सटिन)का खेलहरू शनिवारदेखि सुरु हुँदै छन्। पहिलो खेलमा वेल्स र डेनमार्क खेल्दै छन्। समूह 'ए'बाट दोस्रो भएको वेल्स र समूह 'बी'बाट दोस्रो हुँदै दोस्रो चरण पुगेको दुई टोली बीचको खेल रोमाञ्चक हुनेछ।

त्यसैगरि दोस्रो खेलमा ईटली र अष्ट्रिया भिड्नेछन्। ईटलीले समूह 'ए'मा तीन खेल जित्दै दोस्रो चरणको यात्रा तय गरेको थियो भने अष्ट्रिया समूह 'सी'बाट दोस्रो हुँदै दोस्रो चरण प्रवेश गरेको थियो।अष्ट्रियाले तीन खेलमा २ जित र १मा पराजित भएको थियो।

वेल्स र डेनमार्क बीचको पछिल्लो १० खेलमा डेनमार्क ६ खेलमा विजयी भएको छ भने वेल्सले चार खेल जितेको छ। प्रतियोगिताको पहिलो खेलमा डेनमार्कका क्रिस्चियन एरिक्सन हृदयाघात भएर मैदानमा ढलेका थिए। खेलको दौरान यस्ता घटना विश्वले बिरलै देखेको थियो । एरिक्सनका लागि भए पनि विश्वको समर्थन डेनमार्कलाई रहने सम्भावना रहेको छ। नेदरल्याण्ड्समा हुने खेलमा डच फुटबल प्रेमीहरूको समर्थन डेनमार्कलाई हुने विश्वास डेनमार्क टोलीले लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लिएका छन्।

सन् १९९२को युरो विजेता डेनमार्क सन् २००४ पछि पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको हो। पहिलो दुई खेलमा पराजित भएर रसियासँगको खेलमा ४-१ले विजयी हुँदै दोस्रो चरण प्रवेश गरेको डेनमार्क लयमा फर्किएको छ। सन् २०१६को युरोको सेमिफाइनलमा पुगेको वेल्स पनि राम्रै लयमा देखिएको छ।

उत्कृष्ट फुटबल खेलिरहेको ईटली उपाधिको दाबेदारका रूपमा दोस्रो चरणमा प्रवेश गरेको छ। समूह चरणका खेलहरूमा शतप्रतिशत जित निकालेको ईटलीलाई पहिलो पटक नकआउट चरणमा पुगेको अष्ट्रियाले चुनौती दिने विश्वास गरिएको छ।

अष्ट्रिया र ईटलीबीचको पछिल्ला १३ खेलहरूमा इटलीले १० खेल जितेको छ। अष्ट्रियाले ईटलीलाई अन्तिम पटक १९६०मा पराजित गरेको थियो। उत्कृष्ट लयमा रहेको ईटलीले आफूले खेलेका पछिल्ला ११ खेलहरूमा विजयी हासिल गरेको छ।

वेल्स र डेनमार्कबीचको खेल नेपाली समय अनुसार शनिवार २१:४५ बजे हुनेछ भने ईटली र अष्ट्रियाबीचको खेल आइतबार ००:४५ बजे हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ