arrow

रसुवा सभा हल निर्माणमा घुसेको फोहरी राजनीति

logo
क्रिसमान तामाङ (रसुवाली कान्छा)
प्रकाशित २०७८ असार १३ आइतबार
rasuwa-city-hall.jpg

रसुवा। समाजमा अवस्थित सबै बस्तु र चेतनाको नेतृत्व राजनीतिले गरेको हुन्छ । यो मानेमा राजनीति अत्यन्तै राम्रो हुनुपर्थ्यो ।राजनीतिले नै समाजमा सद्भाव बढाउनु पर्थ्यो,एकता कायम गराउनु पर्थ्यो । सकारात्मक सन्देश प्रवाह गर्न सक्नु पर्थ्यो ।आदि आदि । तर त्यसको ठिक विपरीत राजनीति यति विकृत भएको छ कि,राजनीतिको मातहतका सबै कुरालाई पनि विकृत हुँदै गराइरहेको छ ।

जानेर वा नजानेर,बुझेर वा नबुझेर,अहिले सबै मान्छे राजनीतिलाई जबरजस्त फोहोरी खेलको दुर्गन्धित मैदान बनाउन लागिपरेका छन् । आफूले रुचाएको मान्छेले गरेको सबै असल,आफूले नरुचाएको मान्छेले गरेको सबै खराब।

अहिले सामाजिक सञ्जालमा रसुवा जिल्ला धुन्चेमा अवस्थित महाभूकम्पले क्षतविक्षत सभा हलले सगरमाथाको चुचुरोलाई समेत माथ खुवाएको भान हुँदै छ ।

सभा हल कसले बनाउने  ? कसले बजेट हाल्यो ? कसले समर्थन गर्‍यो  ? कसले विरोध गर्‍यो ? पाँच लाखले सभा हल बन्छ आदि इत्यादि ।

वास्तवमा भन्ने हो भने रसुवावासीले चाहेको जस्तो सभा हल बनाउन ३५,४० करोड बजेटको आवश्यकता पर्छ ।

यो बबुरोले पनि सभा हल निर्माणको लागि ३५ करोडकै डिपिआर बनेको छ भन्ने सुनेको हो ।

डिपिआर,सर्भे,डिजाइन,इस्टिमेट सबै काम सकिएको छ र पनि सम्बन्धित निकायमा फाइल थन्केको पनि अलिक लामो समय भएको छ ।

हाम्रो जिज्ञासा,३५ करोड नै बजेट नआएर ठेक्का नभएको हो त ? सभा हल निर्माण सम्पन्न गर्ने पैसा किन आएन ? ठेक्काको सूचना किन निस्केन ? राष्ट्रिय पुन निर्माण प्राधिकरणका बडे हाकिमहरूको जागिर सकिन लागिसक्यो,भूकम्पले तहसनहस बनाएको धुन्चे सभा हल किन बनेन ? नबन्नुको पछाडि कसको हात छ ? यो कुकृत्यको सबैभन्दा दोषी को हो ? रसुवावासीले पटक,पटक गर्ने यी प्रश्नहरू जायज छ र गम्भीर पनि ।

यथार्थ के हो त ? सत्य कहाँ लुकेको छ ? महाभूकम्पको धक्काले क्षतविक्षत सभा हलमाथि कसले र किन राजनीति गरिरहेको छ ?

आजको यक्ष प्रश्न यो हो ? जनतालाई सत्य लुकाउँदै गुमराहमा राखी आफ्नो निजी राजनीतिक स्वार्थ पूर्ति गर्नका लागि बिचरा सभा हललाई उपयुक्त हतियार कसले बनाइरहेको छ ? वर्तमान सांसद मोहन आचार्यले  कि पूर्व सांसद जनार्दन ढकालले  ?

 रसुवाको जिल्लाको वर्तमान राजनीतिमा सकारात्मक वा नकारात्मक रूपमा छाउनु भएको र चर्चाको केन्द्रबिन्दुमा रहनु भएको चर्चित व्यक्तित्वहरूको बारे बहस गर्दा उपयुक्त र न्यायसङ्गत हुन्छ कि ?

२०७२ साल वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पले सभा हलको नाभिमा नै प्रहार गर्‍यो,उठ्नै नसक्ने गरी थला पार्‍यो ।

पुन निर्माणको नाममा यथेष्ट काम भए,तर धुन्चेको सभा हलले टेक्ने बैसाखी पनि पाएन। किन ? धुन्चे सभा हल निर्माणको लागि बजेट नआएको भने चाहिँ होइन ।आएकै हो ,पूर्व सांसद जनार्दन ढकालको पालामै ल्याउनु भएको हो उहाँकै पालामा आएको हो ।तर त्यो बजेटले धुन्चेको सभा हल बनेन पूर्व सांसद ढकालको घर अगाडिको सभा हल बन्यो ।

उहाँलाई आफ्नै घर अगाडि मन लाग्यो बनाउनु भयो,उहाँ पावरमा हुनुहुन्थ्यो आफ्नो लागि राजकीय पावर प्रयोग गर्नुभयो ।उहाँले जति जान्नु भएको थियो त्यति गर्नु भयो, जे उहाँलाई उपयुक्त लाग्यो त्यही गर्नुभयो ।त्यसको प्रत्यक्ष प्रभाव धुन्चे सभा हललाई पर्‍यो दुख यतिमा हो ।

पछि उहाँले चुनाव हार्नुभयो चुनाव हार्नुभए पछि रसुवा जिल्लामा बजेट ल्याउनु भन्दा रोक्नतिर उहाँ लाग्नुभयो ।

सांसद मोहन आचार्य बजेट ल्याउन बल गर्ने पूर्व सांसद जनार्दन ढकाल रोक्न बल गर्ने, द्वय सांसदज्यूहरूको ल्याउने र रोक्ने लडाइले अहिले पनि निरन्तरता पाइरहेको छ ।ल्याउने र रोक्ने लडाइको असरबाट धुन्चे सभा हल पनि अछुतो रहन सकेन ।

राष्ट्रिय पुन निर्माणका मुख्य हाकिम साप एउटा राजनीतिक पार्टीको नेता हुनुको नाताले आफ्नैले भनेको मात्र मान्नु भयो यसको मारमा धुन्चे सभा हल पर्‍यो। पूर्व सांसद जनार्दन ढकालले सभा हलमा आउने बजेट किन रोक्नु भयो गाँठी कुरो यहाँ छ ।पूर्व सांसद जनार्दन ढकाल राजनीतिका साथै कुशल व्यवसायी पनि हुनुहुन्छ ।उहाँ कहलिएको ठेकेदार हुनुहुन्छ ।

सभा हलको ३५ करोडको ठेक्का आफै पार्ने र पैसा कमाउने उहाँको मुख्य ध्येय हो ।

उहाँको निर्माण कम्पनी लुम्बिनी सुर्यचन्द्र जेभी ले रुपन्देहीमा धुन्चेमा बन्ने जस्तै प्रकृतिको सभा हल बनाइरहेको छ ।त्यो पूरा भएको छैन,त्यहाँको अनुभवी सर्टिफिकेट नआएसम्म ठेक्का खुल्न नदिने,आफूले काम पाउने पक्का भएपछि मात्र टेन्डर गराउने र काम आफूले नै लिएर पैसा कमाउने दुराशयका साथ लाग्नु भएकोले धुन्चे सभा हल नबनेको हो,हामीले यति मात्र बुझौँ ।

अर्कोतिर सांसद मोहन आचार्य धुन्चे सभा हललाई बहुबर्षिय ठेक्का गरेर यही वर्ष ठेक्का गर्ने र आफ्नो कार्यकालमा नै धुन्चे सभा हल निर्माण गर्ने लक्ष्यका साथ महाअभियानमा लाग्नु भएको छ ।

सामाजिक सञ्जालको आरोप. प्रत्यारोप खिसीटिउरी पछि सांसद मोहन आचार्य झनै छिटो भन्दा छिटो सभा हल निर्माण गर्ने उद्देश्यका साथ अगाडी लाग्नु भएको छ।  उहाँको पार्टीको सरकार नभए पनि वर्तमान सरकार लङ्गडो भएको मौकामा उहाँको आफ्नो व्यक्तिगत सम्बन्धहरूलाई प्रयोग गरी रसुवाका जनताको लागि जसरी पनि जस्तोसुकै मूल्य चुकाएर भए पनि सभा हल निर्माणका खातिर अहोरात्र खटिरहनु भएको छ ।

आशा छ ,आफू र आफ्नो पार्टी सरकारमा नहुँदा पनि बर्सेनि दर्जनौँ पुल,सडक, खानेपानी, सिचाईमा यथेष्ट बजेट हाल्न सफल र आफ्नो व्यक्तिगत सम्पत्तिबाट पनि रसुवाको विकास र संवृद्धि लागि कुर्बानी गर्ने,जनताको भोक र रोगका विरुद्ध निरन्तर भिड्ने जनताको नेताले सभा हल आफ्नै पहलमा र आफ्नै कार्यकालमा निर्माण गरी जनताको मुहारमा खुसी बाँड्नु हुनेछ,हामीले नयाँ र सुन्दर धुन्चे सभा हल पाउनेछौ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ