arrow

कमरेड क्रान्ति !

logo
दिलीप बाबु शिवा, 
प्रकाशित २०७८ असार १४ सोमबार
comred-kranti.JPG

कमरेड लाल सलाम!
मलाई चिन्नु भयो...?
म क्रान्ति !
क्रान्तिको अग्रगामी मोर्चामा
हजुरले नै दिएको 
यो तिन अक्षरको नाम
क्रान्ति !!
म त्यही क्रान्ति हू कमरेड?
जसलाई
सामन्ती राज्यसत्ता विरुद्धको 
एउटा महासङ्ग्राममा सामेल हुँदा
स्वयम तपाईँले
एक चुट्की अबिर दलेर 
मोर्चाको सदस्यको करार दिनुभएको थियो।
म त्यही क्रान्ति हू,
जसले क्रान्तिका खातिर
आफ्नो भविष्यलाई बिर्सिएर
देशको भविष्य बदल्ने सपनामा 
आफूभन्दा भारी 
बन्दुक उठाएको थियो।

एउटा महान् सपना
आँखा अघिल्तिर देखाएर
तपाईँले हेडक्वार्टर बाट दिएको
एक आदेशमा
तरङ्गित हुँदै
मेरा यी हातले
कति कति वर्गीय शत्रुको सफाया गरेको थियो।
यो खोरण्डो शरीर
त्यही मान्छेको शरीर हो
जसले
दिन-रात केही नभनीकन लड्यो,
भोक बिर्सिएर लड्यो, 
प्यास बिर्सिएर लड्यो
लास माथि टेकेर लड्यो
सास माथि टेकेर लड्यो
मृत्युलाई जितेर लड्यो
अरू त अरू 
दुस्मनको गोलीले पाखुरी छेड्दा
आईय्या समेत नभनी लड्यो
आफ्नै अघि
आफ्ना सहयोद्धाले प्राण त्याग्दा
आफैभित्र आशु पिएर लड्यो।
उफफ्फ्फ्फ...

कमरेड त्यो बेला त लाग्थ्यो
भोक भनेकै परिवर्तन हो
प्यास भनेकै
दुस्मनको रगत पिउनु हो
उज्यालो भनेकै 
सामन्ती राज्यसत्ता ढल्नु
र चार किल्लामा
विजयको लाल झन्डा फहराएको दिन हो।

सम्झनुस् त कमरेड!
गर्नु या मर्नु बाहेक
जिन्दगीसँग 
कुनै विकल्प नहुँदाका 
ती दिनहरूमा
निर्विकल्प मर्ने र मार्ने 
सङ्कल्प बोकेर उभिएको
तपाईँकै बटालियनको
तपाईँको सहयोद्धा
‘म कमरेड क्रान्ति!’

हुन त!
दलाल पुँजीवादको फरियामा लुटपुटिएर
क्रान्तिको मूल मर्म नै कुल्चिएको 
तपाईँले
मलाई सम्झिनु भएको होला 
भन्ने 
आश त छैन
तर पनि हजुरका जुनाफमा
यादहरूको किस्ती लिएर आएको छु।
जसमा
मैले बर्षौ देखी सम्हालेर राखेको
पिडाको आशु छ।
ब्याटलेलाई बुलेटले जित्ने
तपाईँको दृढ सङ्कल्पमा
मुट्ठी कसेर
ह मा ह मिलाएको
तपाईँको भक्त!
युद्धका घाउहरू बोकेर
आज
तपाई बस्ने दरबारको
ढोकैमा आएर
बार बार
म कमरेड क्रान्ति हू भनेर
आफ्नो 
क्रान्तिकारी परिचय दिइरहँदा
तपाईँले पालेका
सरकारी ढोके-पालेहरू 
मलाई चिन्न इन्कार गर्दै छन्।
र पटक पटक गलत्याएर बाहिर घचेट्दै छन्।

तातो गोलीले नढलेको शिर
आज
तपाईँका दरबारमा निहुराएर
तपाईँलाई नै देखाउनु छ
यी आला घाउहरू
जो परिवर्तनका खातिर उठाएको
बन्दुकले
चिनो छोडेर गएका हुन।
मेरो बन्दुक कहाँ छ कमरेड?
सोध्नु छ तपाईँलाई
बन्दुक राखेको ठेगाना!
आगो लगाई दिनु छ त्यो बन्दुकलाई
जसले तपाईँलाई
सत्ता दियो, शक्ति दियो,
धन-दौलत, यस-आराम दियो
नयाँ जीवन-नयाँ ठाँट दियो
र मलाई मात्रै पश्चात् दियो।
मेरो भाग्यमा चोट दियो
र देशको भाग्यमा खोट दियो।

देशले हारेको 
एउटा कहाली लाग्दो युद्ध
सम्झँदा
निन्द्रा जस्तो लाग्छ।
दलाल पुँजीवाद निस्तेज पार्छौ भन्ने तपाई
एउटा दलालको महलमा गएर
चरेसको थालमा
भुजा ज्युनार गरेको दृश्य देख्दा
म मेरो घरको चुहिने छानो सम्झन्छु।
सम्झन्छु त्यही रित्तो थाली!
तपाईँका सन्तान
अमेरिका उडेका समाचार पढ्दा
स्कुले जीवनमै
बुर्जुवा शिक्षाका किताब जलाएर
अमेरिकी साम्राज्यवाद - मुर्दावाद
भन्दै धारिलो कलम फ्याँकेर
भुत्ते बन्दुक अङ्गालेको सम्झन्छु।
युद्धका मोर्चाबाट सौभाग्यले बाचेका 
मेरा साथीहरू
तपाईँले चलाई रहेको 
सत्ताबाट आजित भएर
खाडीको तातो घाममा भेडा चराउँदै छन्।
ती साथी सम्झँदा 
मेरो घाउ झनझन चर्याउछ कमरेड।
हिजो क्रान्तिको मोर्चामा 
तातो गोली खाएको म
आज घाउ सुकाउने गोली खान नसक्ने अवस्थामा
लाचार भएर
दुई छाकको लागि सङ्घर्ष गर्दै गर्दा
मेरो आत्मालाई यस्तो लाग्दै छ; 
मैले तपाईँलाई जिताउँदा
देशलाई हराएर ठुलो पाप गरेछु।
सायदै अहिले धुरीबाट
मेरो त्यही पाप कराई रहेको छ।

-दिलिप बाबु शिवा
गौरादह, झापा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ