arrow

युरोकपको १६ औं संस्करण

युरोकपले नयाँ च्याम्पियन पाउने प्रवल सम्भावना, यस्तो छ समीकरण  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
Euro-2020-logo.jpg

काठमाडौं । युरोकप फुटबलको १६ औं संस्करण अन्तर्गत शुक्रबारदेखि क्वार्टरफाइनलका खेलहरु हुँदैछन् । यस पटक इटाली, बेल्जियम, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, चेक गणतन्त्र, इङ्गल्याण्ड र युक्रेन अन्तिम आठमा पुग्न सफल भएका छन् । 

शुक्रबार क्वार्टरफाइनलका दुई खेल हुँदैछन् । शुक्रबार राति २१ः४५ बजे स्पेन र स्वीट्जरल्याण्ड तथा १२ः४५ बजे इटाली र बेल्जियम खेल्दैछन् । 

शनिबार राति २१ः४५ बजे डेनमार्क र चेक गणतन्त्र तथा १२ः४५ बजे इङ्गल्याण्ड र युक्रेन खेल्दैछन् । सेमिफाइनल खेलहरु ६ जुलाईदेखि शुरु हुनेछन् । पहिलो सेमिफाइनल ६ जुलाई राति १२ः४५ बजे र दोस्रो खेल ७ जुलाई राति १२ः४५ बजे हुनेछ । 

फाइनल खेल ११ जुलाई राति १२ः४५ बजे हुनेछ । ११ देशका ११ शहरमा २४ टोली सहभागी भएर जारी युरोकप शुरू भएको हो । 

कसले जित्ला उपाधि ? 
अहिलेसम्म १० देशले मात्र युरोकप उचाल्न पाएका छन् । जसमा जर्मनी र स्पेनले समान ३–३ पटक उपाधि जितेका छन् । फ्रान्सले २ पटक तथा सोभियत युनियन (रुस), चेकोस्लोभाकिया, नेदरल्याण्ड्स, डेनमार्क, ग्रीस, इटाली र पोर्चुगलले १–१ पटक उपाधि जितेका छन् । 

यीमध्ये जर्मनी, रुस, फ्रान्स र नेदरल्याण्ड्स बाहिरिइसकेका छन् । ग्रीस यसपालि सहभागी नै भएन । साविक विजेता पोर्चुगल पनि राउन्ड अफ सिक्सटिनबाटै बाहिरिएको छ । 

यसअघि नै उपाधि जितिसकेका टिममा स्पेन, इटाली र डेनमार्क मात्र बाँकी रहेका छन् । स्पेन बलियो टिम हो । उसले फेरि पनि उपाधि जितेर रेकर्ड राख्ने प्रवल सम्भावना कायमै रहेको छ । 

इटाली घाइते बाघ हो । यसअघिको रुस विश्वकपमा छनोटसमेत नभएको इटालीले त्यसयताका अधिकांश खेल जितेको छ । उसलाई युरोकप जित्ने दवाव पनि रहेको छ । प्रशिक्षकले खेलाडीहरुलाई परीक्षण गरिरहेकाले कतिबेला के परिणाम निस्कन्छ पत्तो छैन । 

डेनमार्कले यसपालि राम्रै खेलिरहेको छ । हुन त समूह चरणमा उसले रुसलाई ४–१ ले हराएपछि त्यसपछिको नतिजा बेल्जियमलाई २–१ ले तथा फिनल्याण्डलाई १–० ले सुम्पिएको थियो । र पनि डेनमार्क समूहको दोस्रो स्थानमा रहेर राउन्ड अफ सिक्सटिनमा पुगेको थियो । 

तर राउन्ड अफ सिक्सटिनमा भने डेनमार्कले वेल्सलाई ४–० ले पराजित गरेर आफू अब्बल भएको सावित गर्यो । अब क्वार्टरफाइनलमा उसको भिडन्त चेक रिपब्लिकसँग हुँदैछ । चेक पनि बलियो सावित भएको छ । 

चेकले राउन्ड अफ सिक्सटिनमा एक पटकको च्याम्पियन नेदरल्याण्ड्सलाई २–० ले पराजित गर्दै उपाधिको दावेदार रहेको प्रमाण पेश गरिसकेको छ । 

नयाँ च्याम्पियनको सम्भावना
यसपालि ११ देशका ११ शहरमा ११ जुनदेखि ११ जुलाईसम्म भइरहेको प्रतियोगिताबाट ११ औं नयाँ च्याम्पियन पाउने सम्भावना पनि उत्तिकै छ । 

त्यो सम्भावनामा स्वीट्जरल्याण्ड, बेल्जियम, चेक रिपब्लिक, युक्रेन र इङ्गल्याण्ड रहेका छन् । स्वीट्जरल्याण्डले राउन्ड अफ सिक्सटिनमा फ्रान्सलाई हराएर बलियो दावेदारी प्रस्तुत गरिसकेको छ । 

अब क्वार्टरफाइनलमा उसको भिडन्त स्पेनसँग हुँदैछ । स्पेनलाई जित्नु भनेको स्वीट्जरल्याण्डले आधा उपाधि जितिसक्नु हो । तर स्पेनले सजिलै घुँडा टेक्ने स्थिति देखिँदैन । 

बेल्जियम बलियो टिम हो । बेल्जियम फर्ममा पनि रहेको छ । डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई राउन्ड अफ सिक्सटिनमा १–० गोल अन्तरले हराएर बेल्जियमले आधा उपाधि जितिसकेको अनुभव गरिसकेको छ । 

युक्रेन पनि फर्ममा छ । राउन्ड अफ सिक्सटिनमा स्वीडेनलाई २–१ ले हराएर युक्रेन क्वार्टरफाइनलमा पुगेको हो । युक्रेनको क्वार्टरफाइनल प्रतिद्धन्द्धी इङ्गल्याण्ड हो । 

इङ्गल्याण्डले ५५ वर्षपछि पहिलो पटक नकआउटमा जर्मनीलाई हराएर क्वार्टरफाइनलमा स्थान बनाएको हो । इङ्गल्याण्ड २–० ले विजयी भएको थियो । फर्ममा रहेका रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरेका थिए । इङ्गल्याण्ड निकै सन्तुलनमा रहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ