- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले गरेको छड्के अनुगमनका क्रममा सात सवारी साधन कारबाहीमा परेका छन् । निषेधाज्ञाको समयमा जिल्लामा सञ्चालित सवारी साधनबाट यात्रु ठगिन थालेपछि जिल्ला प्रशासन कार्यालय डोटीले छड्के अनुगमन थालेको हो।
सवारीसाधनले मनपरी तरिकाले भाडा असुल्ने गरेको व्यापक जनगुनासो पछि गरिएको अनुगमनमा ५ हाइस र २ बस कारबाहीमा परेका हुन् । डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालका अनुसार,'निषेधाज्ञा उलङ्घन गरेका ४ र यात्रुलाई टिकट नदिएका ३ सवारीसाधनलाई कारबाही गरेका छौँ ।निषेधाज्ञा उलङ्घन गरेका सवारीसाधनलाई पाँच हजार र यात्रुलाई टिकट नदिने सवारी साधनलाई एक हजार पाँच सयका दरले जरिवाना तिराएका छौँ ।'
उनले थपे ,' डोटीबाट धनगढीका लागि छुट्ने केही सवारीसाधनले तोकेको भाडा दर भन्दा बढी भाडा लिएको पाइएको छ । पहिलो पटकलाई सामान्य जरिवाना र भाडा फिर्ता गराइएको छ। अर्को पटक भेटिए कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही गरिने छ।'
प्रमुख जिल्ला अधिकारी खनालको अध्यक्षता सोमबार बसेको सरोकारवालाहरूको बैठकले जिल्लामा यात्रुहरूको आवागमनलाई सहज सुरक्षित र व्यवस्थित बनाउने निर्णय अनुसार छड्के अनुगमन गरिएको प्रशासन जनाएको छ। जरिवानाबाट चौबीस हजार पाँच सय रुपैयाँ सङ्कलन भएको छ।