arrow

अब निर्वाचनमा जानुको विकल्प छैन, संसद् निकम्मा भयो : डा. सुरेन्द्र भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
surendra-bhandari.JPG

काठमाडौँ ।  वरिष्ठ नेता अधिवक्ता तथा संविधानविद् डा. सुरेन्द्र भण्डारीले अहिलेको समस्याको समाधान निर्वाचनले मात्रै दिन सक्ने ठोकुवा गरेका छन् । उनले संसद् त निकम्मा भएको दाबी गरे । 

बुधवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अदालतले प्रधानमन्त्रीमा धारा ७६ को ५ अनुसार दाबी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैलाई संसद्मा परीक्षण गर्न भन्न सक्ने पनि बताए । उनले भने,‘यदि अदालतले यस्तो फैसला गर्‍यो भने मुलुक राजनीतिक सङ्कटतर्फ जान्छ । झनै समस्या थपिन्छ ।’ उनले संसद्ले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बरु राष्ट्रपतिले मात्रै नियुक्त गर्ने व्यवस्था नेपालको संविधान २०७२ मा व्यवस्था गरिएको पनि जिकिर गरे । 

उनले अर्को विकल्पमा अदालतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारा ७६ को ४ अनुसार विश्वासको मत लेउ भन्ने आदेश दिन सक्ने पनि बताए । उनले धारा ७६ को १ को प्रधानमन्त्री २ अनुसार पनि बन्न सक्छ, २ को प्रधानमन्त्री ३ अन्तर्गत भएकोले ३ बाट ५ अन्तर्गत हुन नसक्ने भनेर संविधानमा नलेखिएको पनि स्पष्ट पारे । त्यस्तै, उनले प्रतिनिधिसभा विघटन सदर भए मुलुक निर्वाचनमा जाने बताए । उनले आफूले पनि अहिलेको समस्याको समाधान निर्वाचनले मात्रै गर्न सक्ने बताउँदै आएको सुनाए । 

उनले भने,‘अहिलेको समस्याको समाधान यो संसद्ले गर्न सक्दैन । मुलुकमा यत्रा ठुलो भ्रष्टाचारका काण्ड भएका छन्, तर संसद्ले अहिलेसम्म यसबारेमा ठोस काम गरेन । यो त निकम्मा भएको छ ।’ उनले निर्दलीय रूपमा सरकार बन्नै नसक्ने ठोकुवा गरे । उनले भने,‘शेरबहादुर देउवाको माग दाबीमा काँग्रेस र माओवादी केन्द्रको दलको हैसियतमा छ, अनि माधव नेपाल र उपेन्द्रजीहरूको स्वतन्त्रको हैसियतमा छ । हेर्नुहोस्, संसदीय अभ्यासमा दलका सांसद दलप्रति इमानदार हुनुपर्छ ।’ 

उनले अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने दाबी गरे । उनले यति वेला अदालत आफैँ अप्ठ्यारो अवस्थामा रहेको सुनाए । राजनीतिक स्थायित्वको लागि पनि निर्वाचनमा जानु नै अहिलेको उत्तम विकल्प भएको उनको भनाई छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ