arrow

मौद्रिक नीति : सेजनले राष्ट्र बैङ्कलाई दियो ३५ बुँदे सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २४ बिहिबार
sejon-nrb-monetary-policy.jpg

काठमाडौँ। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मौद्रिक नीतिका विषयमा नेपाल राष्ट्र बैङ्कलाई सुझाव दिएको छ। बिहीबार सेजनका अध्यक्ष भीमप्रसाद गौतमले गभर्नर महाप्रसाद अधिकारीलाई ३५ बुँदे सुझावका दिएका हुन्। सेजनले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको चरणमै कोभिडको दोस्रो लहरले अर्थतन्त्रलाई जटिल मोडको पुर्‍याएको भन्दै अर्थतन्त्र पुनरुत्थानलाई नै ध्यानमा राखेर नीति ल्याउन आग्रह गरेको छ।

“चालु आर्थिक वर्षको मौद्रिक नीतिले कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। राष्ट्र बैकले लिएको नीतिका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ तर मौद्रिक नीति कार्यान्वयनको चरणमै दोस्रो लहरको कोरोना भाइरसको असर बढेपछि फेरि नेपालको अर्थतन्त्र जटिल मोडमा पुगेको छ” सेजनले भनेको छ, “यसबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न मौद्रिक नीति सामु चुनौती थपिएको छ।

एकातिर वित्तीय क्षेत्रलाई स्थायित्व दिनुपर्ने र अर्कोतर्फ राहत समेत दिनुपर्ने परस्परमा विरोधी (म्युचुअल्ली एक्सक्लुसिभ) विषयहरूलाई सन्तुलन गर्नुपर्ने चुनौती रहेको छ।”

गभर्नर अधिकारीले सेजनले यथार्थपरक सुझाव दिएको भन्दै धन्यवाद व्यक्त गरे। उनले आगामी मौद्रिक नीतिका विषयमा विभिन्न सरोकारवालाहरूसँग राष्ट्र बैङ्कले छलफल गरेको बताए। उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिले उद्योगी व्यवसायीसहित आम सर्वसाधारणलाई आत्मविश्वास मर्न नदिएको बताए। उनले आगामी मौद्रिक नीतिले पनि उद्योगी व्यवसायीसहित आम सर्वसाधारणको आत्मविश्वास बढाउने खालको नै ल्याउने बताए।

“चालु वर्षको मौद्रिक नीतिका कारण हामीले उद्योगी व्यवसायीको आत्मविश्वास मर्न दिएनौँ। हामीले सबै सरोकारवालाहरूसँग छलफल पनि गरिसकेका छौँ। उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन नै कोसिस गर्नेछौँ” उनले भने।

सेजन अध्यक्ष गौतमले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति आउने विश्वास व्यक्त गरे।

कार्यक्रममा डेपुटी गभर्नर द्वय बम बहादुर मिश्र र निलम ढुङ्गाना, कार्यकारी निर्देशक एवं प्रवक्ता देवकुमार ढकालसहित सेजन सचिव कृष्ण रिजाल र कोषाध्यक्ष हिमाल पौडेल सहभागी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ