- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलको उपाधि इटालीले जितेको छ । आइतबार राति भएको फाइनलमा इङ्गल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटालीले उपाधि जितेको हो ।
पहिलो पटक युरोकप फुटबलको फाइनलमा पुगेको इङ्गल्याण्ड पेनाल्टीमा ३–२ गोल अन्तरले पराजित भएको हो । इङ्गल्याण्डको लण्डनस्थित वेम्ब्ली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीले बाजी मार्यो ।
पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । इङ्गल्याण्डका लागि कप्तान ह्यारि केन र ह्यारि मग्वाएरले मात्र गोल गरे ।
त्यसअघि खेलको दोस्रो मिनेटमै गोल गरेर इङ्गल्याण्डले शुरुआती अग्रता बनाएको थियो । लुक शाले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफसम्म इङ्गल्याण्डले अग्रतालाई कायमै राख्यो । वेम्ब्बलेको ६७ हजार १७३ दर्शकको चिच्याहटबीच इङ्गल्याण्ड जित नजिक पुगेको थियो ।
तर खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा गोल भएन र खेल पेनाल्टी सुटआउटमा पुग्यो ।
यो उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यसअघि इटालीले सन् १९६८ मा युरोकप उपचालेको थियो ।
इङ्गल्याण्ड भने ‘लक्की’ मानिएको वेम्ब्ली स्टेडियममै पराजित हुन पुग्यो । पहिलो पटक युरोकपको फाइनलमा पुगेर घरेलु मैदानमै उपाधि जित्ने उसको सपना तुहिएको हो ।
वेम्ब्ली स्टेडियममै सन् १९६६ मा इङ्गल्याण्डले विश्वकप फुटबलको उपाधि जितेको थियो ।
इटालीको कीर्तिमान
इङ्गल्याण्डलाई पराजित गरेसँगै इटालीले अपराजित यात्राको रेकर्डलाई अझ फराकिलो पारेको छ । ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको हो । इटालीले ८२ वर्षअघि सन् १९३५ को अक्टोबरदेखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।
यसपालि इटालीले सन् २०१८ को विश्वकपपछि निरन्तर अपराजित यात्रालाई अहिलेसम्म ल्याइपुर्याएको छ । उसले विश्ववरियताका सबैजसो देशलाई पराजित गरिसकेको छ ।