- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को दुई वर्षपछि पहिलो पटक बस्न लागेको बोर्ड बैठक स्थगित भएको छ । असार ३० गतेका लागि बोलाइएको बोर्ड बैठक पछिल्लो राजनीतिक अवस्थाका कारण स्थगित भएको हो ।
राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली र राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री कृष्णगोपाल श्रेष्ठ नै सर्वोच्च अदालतको आदेशपछि कुर्सी छाड्न वाध्य भएपछि अभिभावक नै नहुने भएपछि राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले बैठक स्थगित गरेका हुन् ।
मन्त्री नै नहुने भएपछि स्वतः उनैले बोलाएको बैठक स्थगित भएको राखेपका बोर्ड सचिव एवं राखेप प्रवक्ता कुलबहादुर थापाले मिडियालाई बताएका छन् ।
ओलीको आशीर्वादमा राखेपको सदस्यसचिव भएका एमालेका नेतासमेत रहेका सिलवाललाई अब काम गर्न पनि अप्ठेरो हुने नै छ । उनले आशीर्वादका भरमा दुई पटक सदस्यसचिव पड्काइसकेका छन् ।
उनले एक वर्षे नयाँ कार्यकाल पनि सकाएका छन् । तर एक वर्षको अवधिमा उनले राखेपको बोर्ड बैठकसमेत डाकेनन् । अब नयाँ मन्त्री आएपछि बैठक बस्न पक्कै समय लाग्ने नै छ ।
नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गतेबाट कार्यान्वयनमा आएपछि ऐनले राखेप बोर्ड बैठक वर्षको कम्तीमा दुई पटक बस्नुपर्ने उल्लेख गरेको भए पनि पालना गर्नुपर्ने निकायका सिलवालले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।
ओलीले जस्तै सदस्यसचिव सिलवालले पनि कानून उल्लंघन गरेको आरोप लाग्ने गरेको छ । ओली नेतृत्वको सरकारमा चार जनाले खेलकुद मन्त्रालयको जिम्मेवारी पाए पनि कसैले बोर्ड बैठक बोलाउनेसमेत हिम्मत गरेनन् ।