arrow

जाजरकोट खण्डको काममा तीव्रता, जगदुल्ला जलविद्युत् आयोजनालाई राहत

logo
 हेमन्त केसी,
प्रकाशित २०७८ साउन ४ सोमबार
Hemanta_Jajarkot.jpg

जाजरकोट । जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि बाधक मानिएको भेरी नदीको पुल निर्माणका लागि प्रक्रिया शुरु गरिएको छ । सडक डिभिजन चौरजहारीले आइतबार बोलपत्र आह्वान गरी पुल निर्माणका साथै भेरी करिडोरको स्तरोन्नतिको काम अगाडि बढाएसँगै सो आयोजना निर्माणका लागि थप प्रगतिको पाइला अगाडि बढेको हो ।

छिन्चु-जाजरकोट सडक खण्डभित्र सबै पुल निर्माण कार्य पूरा भई जाजरकोट सदरमुकामसम्म कालोपत्र पूरा भए पनि डोल्पा खण्डभित्र सबै ठाउँमा पुल निर्माण नहुँदा समस्या हुँदै आएको थियो । सडक डिभिजन कार्यालय चौरजहारीले अघिल्लो वर्षदेखिसदरमुकाम नजिकै पासागाडलाई जिरो प्वाइन्ट मानेर कालोपत्रको काम शुरु गरेको थियो । पासागाड-रिम्ना सम्म १७ किलोमिटर कालोपत्र गर्ने पहिलो चरणको काम जारी रहँदा, दोस्रो चरणका लागि रिम्ना -चिसापानी हुँदै तल्लुसम्मका लागि बोलपत्र आह्वान गरेपछि जाजरकोट खण्डको करीब ८० प्रतिशत सडकको स्तरोनन्तिको प्रक्रिया अगाडि बढेको छ । जाजरकोट-डोल्पा सडकखण्डको अन्तिम भाग त्रिवेणी भए पनि नलगाड नगरपालिकाको तल्लुबाट रुकुमपश्चिम भएर सडक डोल्पा जाने गर्दछ । 

जाजरकोट खण्डका सबै भागमा स्तरोन्तिको काम एकैपटक शुरु भएसँगै सर्वसाधारण खुशी भएका छन् । सोही सडकसँग जोडिएको मुख्य भाग नलगाडको तल्लु र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा पुलको ठेक्का खोलेसँगै अब जाजरकोट खण्डको पुरै कामले गति लिएको छ । पुल र सडक निर्माण कार्य तीव्रता पाएसँगै उक्त जलविद्युत् आयोजना निर्माणका लागिसमेत थप जटिलता कम भएको छ । 

जाजरकोट, डोल्पा र रुकुमपश्चिमको सिमाना रहेको त्रिवेणीस्थित भेरी नदीमा १०० मिटर लामो पुल जलविद्युत् आयोजनाले अघिल्लो वर्ष नै बोलपत्र खोलेर काम जारी रहेको आयोजनाका प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । जाजरकोट खण्डको सर्वाधिक समस्या रहेको झुर्मेखोला र नलगाड नदीको पुलसमेत निर्माण कार्य पूरा भएर यातायातका साधन सञ्चालन भइसकेका छन् । सडक डिभिजन चौरजहारीले ती पुल निर्माण गरेको डिभिजन प्रमुख ध्रुवकुमार झाले जानकारी दिए । 

जाजरकोट-डोल्पा सडकखण्डका सबै पुल निर्माण कार्य जारी रहँदा जाजरकोट खण्डका ७० प्रतिशत पुल निर्माण कार्य पूरा भएको छ । सानासाना पुल मात्र निर्माण कार्य जारी रहेको डिभिजन प्रमुख झाले जानकारी दिए । जाजरकोट-डोल्पा सडकखण्डभित्र रहेका पुल निर्माण कार्य शुरु भएसँगै सर्वाधिक अप्ठ्यारो मानिएको र टुइनमार्फत यातायातका साधन वारपार गरिरहेको ठाउँ तल्लुस्थित भेरी नदीमा अब समस्य छिट्टै हल हुने डिभिजन प्रमुख झाले बताए । 

अहिले सो सडक निर्माणका लागि सरकारले रु ५१ करोड रकम विनियोजन गरेको छ । नलगाड जलविद्युत् आयोजना (४१७ मेगावाट), जगदुल्ला जलविद्युत् आयोजना (१०६ मेगावाट) र ताँसुगाड जलविद्युत् आयोजनाका (चार मेगावाट) साथै भेरी ए, बी र सीजस्ता आयोजनासमेत यही भेरी करिडोरभित्र पर्दछन् ।

त्यस्तै नलगाड-७ दानीपिपलमा निर्माण कार्य जारी रहेको ४०० केभी प्रसारण लाइनका सवस्टेशन र ३३ केभी (चौखा) प्रसारण लाइनको सवस्टेशन निर्माणस्थल नलगाड नगरपालिकाभित्र नै पर्दछन् । यी सबै आयोजना जाजरकोट-डोल्पा सडकखण्डकैबीचमा पर्ने भएकाले सडकको स्तरोन्नति तथा पूल निर्माणसँग विद्युत आयोजनाको निर्माण कार्यले समेत गती लिने भएका हुन् । 

कहाँ पुग्यो जगदुल्ला निर्माणको कार्य 
स्वदेशी लगानीमा निर्माण कार्य शुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको जग्गा अधिग्रहणको काम सम्पन्न भएको छ । आयोजनालाई आवश्यकपर्ने २६० रोपनी जग्गा अधिग्रहण भइसकेको र त्यसका लागि मुआब्जासमेत वितरण भइसकेको आयोजाना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कामसमेत सम्पन्न भएको छ । 

आयोजना निर्माणका लागि रु २० अर्ब लाग्ने अनुमान गरिएको प्रमुख सापकोटाले बताए । अर्धजलाशययुक्त उक्त आयोजनाको अहिले वातावरणीय अध्ययन कार्य जारी छ । एनइ इञ्जिनीरिङले सो काम सम्पन्न गरेर पुस मसान्तसम्म आयोजनालाई प्रतिवेदन बुझाउने सम्झौता गरेको छ । त्रिवेणीस्थित भेरी नदीमा १०० मिटर लामो पुलको कामसमेत आयोजना आफँैले निर्माण गरिरहेको छ । आयोजनाको विद्युत् उत्पादन गृहमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापनका लागि दुई भवन निर्माण कार्य चलिरहेको छ ।

वातावरणीय अध्ययन कार्य अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, ठेकेदार छनोट प्रक्रियासमेत चालु आर्थिक वर्षमा अगाडि बढाई आउँदो आगामी वर्षदेखि निर्माण कार्य शुरु गर्न लागिएको छ । त्यसका लागि अहिले विद्युत् खरीदबिक्री तथा सम्झौताको कामका लागि आवश्यक सहकार्य भइरहेको छ । त्यस्तै वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको बताइएको छ । यस वर्ष विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) र व्यवस्थापन सक्ने लक्ष्य लिइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ