arrow

कहाँ गयो डोटी प्रहरीले बरामद गरेको एक किलो सुन र १७ लाख बढी पैसा ?

प्रहरीको नियतमा शंका, बरामद गरेको सुन र नगदको सूचना दिन आनाकानी 

logo
प्रकाश बम,
प्रकाशित २०७८ साउन ७ बिहिबार
gold-ddl.jpg

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले सूचना दिन आनाकानी गरेको छ । छ महिना अगाडी बरामद गरेको सुन र नगद रुपैयाँका बारेमा सूचना माग गर्दा अनुसन्धान गरिरहेको भन्दै आनाकानी गरेको हो । जिल्ला प्रहरी कार्यालय डोटीले स्रोत नखुलेको एक किलो एक सय ग्राम सुनसहित १७ लाख ४७ हजार नगद बरामदसँगै दुई जनालाई पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक धर्मानन्द जोशी नेतृत्वको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट गत माघ १४ गते नगद बोकेर तराई जाने क्रममा दिसिनपा-४ कुलपातेबाट ६० वर्षिया काली भुललाई नगदसहित पक्राउ गरेको थियो । 

प्रहरीले नगदसहित पक्राउ परेकी केआईसिंह गाउँपालिका- ६ भिताडीकी महिलाको घरमा छापा मारेर लुकाएर राखेको एघार सय ग्राम सुन पनि बरामद गरेको थियो । काली र उनका भतिजालाई एक दिन जिप्रका डोटीमा राखेर दोस्रो दिन बयानपश्चात् छोडिएको प्रहरीको भनाइ छ । उक्त घटनासँग जोडिएका अन्य व्यक्तिहरूको खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले दाबी गरे पनि प्रहरीको नियतमा शङ्का उब्जिएको हो।

बरामद गरेको सुन र नगद रुपैयाँ बारेमा सम्बन्धित व्यक्तिलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा सँगको सहकार्यमा बुझाएको भनिए पनि बुझाएको प्रतिलिपिको सूचना नदिँदा प्रहरीको नियतमा शङ्का गर्ने ठाउँ प्रशस्त देखिएको छ । बरामद गरिएको सुन र रकम दाबी गर्न आएको व्यक्ति को हुन् र कहाँबाट आएका हुन् भनी लिखित जानकारी माग्दा अनुसन्धान भइरहेकाले दिन नमिल्ने भन्दै उल्टै जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी रवीन्द्र चन्दद्वारा हस्ताक्षर पत्रमा जवाफ दिएको छ । 

इन्टर पोल शाखासँगको सम्वन्यमा सुन र नगद गत फागुन १४ गते प्रहरी प्रधान कार्यालय मार्फत इन्टरपोल शाखामा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले प्रहरी प्रधान कार्यालय लेखामा कार्यरत प्रहरी नायब निरीक्षक राम चन्द्र बस्नेतलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ। 

प्रहरी प्रधान कार्यालयलाई बुझाउँदा प्रहरी नायब निरीक्षक राम बहादुर खत्री , प्रहरी सहायक निरीक्षक सागर लामिछाने मगर र प्रहरी जवान अनुप कुमार मगर रोहवरमा बसेको पत्रमा उल्लेख गरिएको छ। ठुलो मात्रामा भित्रिएको सुन अन्य व्यक्तिहरूले समेत बाँडेर लगेको खुल्न आएको छ । 

प्रकरणमा जोडिएका अन्य व्यक्तिहरू अझै फरार छन् । पक्राउ परेकी महिलाले डोटीकै सुन पसलमा सुन बिक्री गरेर नगद लिएको खुल्न आएको श्रोत बताउँछ । घटनासँग जोडिएका, भारतबाट मिलेमतोमा सुन भित्र्याउने व्यक्तिहरू कहाँ छन् प्रहरी बेखबर छ नै ? स्रोत नखुलेको बिल विनाको सुन खरिद गर्ने व्यापारीबाट समेत सुन जफत गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दान बहादुर मल्लले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए । उनले भने, ‘प्रहरीले अन्य सुन र व्यक्तिलाई यो बिचमा पक्राउ नगरिएको तर अनुसन्धान भइरहेको छ ।’ मल्लले भने ,' हेडक्वार्टरे ठुलो समारोह गरेर  भारतीय दूतावास हुँदै आएको सम्बन्धी व्यक्तिलाई बरामद गरिएको सुन र नगद बुझाइ सकेको छ ।' 

बरामद गरेको सुन र नगदको बारेमा दुई हप्ता अगाडि जिल्ला प्रशासन कार्यालयमा व्यापक कुरा उठ्दा प्रहरी उपरीक्षक मल्लले माथिबाट सूचना आयो। लक्कीले नेपाल प्रहरी बरामद गर्‍यो ।सार्वजनिक गर्न नमिल्ने भएकोले जिल्लामा गरेनौँ । पीडितले ९०लाख को दाबी गरेको थियो । अहिले जति बरामद गरेको छ । त्यति बुझायौ ।'                 

केही सेवा गरौँ भनेर डोटी आएको हो। पैसा कमाउन चाहिँ आएको होइन , त्यो नसोच्नु होला भन्दै प्रहरी उपरीक्षक मल्लले सार्वजनिक कार्यक्रममा उल्टै जवाफ दिएका थिए । सुनका विषयमा प्रहरीले त्यति चासो नदेखाएको स्थानीय आरोप छ । नाम नबताउने सर्तमा एक जनाले भने,' भारतबाट ल्याइएको सुन स्थानीय व्यापारीलाई बेचेको बाहिर व्यापक हल्ला छ। तर प्रहरीले अनुसन्धान गर्न कन्जुस्याइँ गर्नु भनेको मिलेमतो छ भन्ने प्रस्ट हुन्छ ।'

No description available.No description available.

भारतमा पक्राउ परेका व्यक्ति भन्छन् : सम्बन्धी व्यक्तिले सुन पाएको छैन 
भारतमा पक्राउ परेका एक व्यक्तिले सम्बन्धी व्यक्तिले अहिलेसम्म सुन र नगद नपाएको बताएका छन् । हाम्रा कुरासँग कुरा गर्दै केआसिंह गाउँ पालिका -६ भिताडि डोटीका ती व्यक्तिले आफू विगत एक्काइस वर्ष देखी भारतमा प्यारासुट कम्पनीमा काम गर्दै थिए । सबैको विश्वास जितेको थिए । 

उनले भने,' मेरो कैसिको छोरा केआइसिंहगाउँ पालिका झिगावस्ती बस्ने नरी भुल म कहाँ पुग्यो । उसले पहिला त्यहीँ ठाउँमा पाँच वर्ष काम गरेको थियो । पछि फेरि त्यसै ठाउँमा काम लगाइन दिन भनी आयो। मैले म सक्दैन भने। उसले जिद्वि गर्‍यो।अनि मैले घरधनी स्वइता मिश्र सँग कुरा गराए। उनले पनि पाँच वर्ष पछि काम गर्न फेरि मेरो आयो भन्दै ठिकै छ भनिन् । उनले मुम्बई बाट दुई,तिन घण्टाको दुरीमा रहेको कामसेन उक्सान गाउँ ग्लोडेन ग्लेज नजिक स्वाइताको कम्पनी काम गर्न सुरु गरे ।काम गरेको तीन दिनमा नरि र अछाकी उनकी शाली पर्नेले घर धनीको खानामा निन्द्रा लाग्ने औषधि खुवाए ।त्यसै राती दुई बजे दुवैले २ किलो सुन र नगद १९ लाख भारती रुपैयाँ चोरेर फरार भए । घर धनीले खोजतलास गर्दै प्रहरी लगायतका ठाउँमा उजुरी गर्‍यो । चोरी गर्ने मेरो आफन्त हो भन्दै मलाई पक्राउ गर्‍यो ।उनले भने ,'डेढ महिना थुनामा बसे । फिर्ता हुने सर्तमा छोडेको हो। मैले घरधनी र प्रहरीलाई चोरी गर्ने व्यक्तिलाई ल्याएर आउँछ भनेर कागज बनाएर छोडेको हो। नेपाल आए लगत्तै । चोरी गर्ने व्यक्तिको घर पुगे । तर घर पुग्दा उ फरार भयो। घरमा उनको आमा र श्रीमतीले म सङ्घ झगडा गर्‍यो भन्दै दुःख व्यक्त गरे। 

उनले थपे ,' प्रहरीले सुन र नगद बरामद गरेको भारतमा थाहा पाएको थिए । दुई दिन भारतबाट ल्याएको पत्र जिप्रका डोटीमा देखाए । उल्टै प्रहरीले सम्बन्धी व्यक्तिलाई बुझाइ सके भनेर जवाफ दियो । यता प्रहरीले बुझाइ सक्यो भनेर मैले  सम्बन्धित व्यक्तिलाई कुरा गर्दै मैले बुझेको छैन भनेर भन्यो। अब मैले के गर्ने । यो सुन र नगद कता गयो ? यसमा सबै लागेर अनुसन्धान गरिदिन उनले अनुरोध गरे ।'

यता प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका एक अधिकारीका अनुसार सम्बन्धित व्यक्तिलाई सुन र पैसा बुझाइ सकेको बताए । जसले दाबी गर्‍यो त्यो व्यक्तिले इन्टरपोल मार्फत लागि सक्यो। नाम भन्न मिल्दैन । डोटीबाट सूचना माग्नु होला ।हामी यताबाट जानकारी पठाइ दिन्छौँ भन्दै कुरा टुङ्गाए। तर जिल्ला प्रहरी कार्यालय डोटीले अनुसन्धानमा रहेको भन्दै सूचना दिन आनाकानी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ