arrow

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
umesh-shrestha-state-minister-health.jpg

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारमा श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी जनाएको हो। श्रेष्ठलाई संविधानको धारा ७६ को उपधारा ९ बमोजिम स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

स्वास्थ्य मन्त्रालयको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले मन्त्रालयको नेतृत्व भने आफैसँग राखेका छन्।  शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै खोपलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताइरहँदा स्वास्थ्य मन्त्रालयले भने छुट्टै नेतृत्व नपाउँदा प्राविधिक तथा प्रशासनिक जटिलताहरू थपिएका थिए ।

प्रधानमन्त्रीको खोप प्राथमिकतालाई नै प्रभावित गर्ने गरी मन्त्रालयका अधिकारीहरूले नजानिँदो किसिमले असहयोग अभियान समेत भित्रभित्रै चलाएका थिए । यी सबै कुरालाई चिर्न मन्त्रालयमै गएर काम गर्ने गरी नेतृत्वको आवश्यकता थियो ।

आइतबार साँझसम्म स्वास्थ्य मन्त्रालयलाई नेतृत्व उपलब्ध गराउन प्रधानमन्त्री शनिवार देखि नै सक्रिय थिए । सत्तारुढ गठबन्धनको महत्त्वपूर्ण सहयोगी जसपालाई आजै सरकारमा सहभागी गराउने गरी प्रधानमन्त्रीले गृहकार्य पनि गरेका थिए । 

तर आधिकारिकताको विवाद टुङ्गिएपछि मात्रै मन्त्री बनाउने कुरामा जसपा अडिग भएपछि आइतबार नै जसपाको तर्फबाट मन्त्री बनाउन सकिएन । 

जसपाको यादव पक्ष आफै पनि गोदावरीको एक रिसोर्टमा छलफलमा छ । उनीहरूको  आधिकारिकताको टुङ्गो सम्भवतः निर्वाचन आयोगले सोमबार दिनेछ ।

जसपाले थप समय लिने भएपछि प्रधानमन्त्रीले आम नागरिकको चासो र स्वास्थ्यसँग सरोकार राख्ने काँग्रेसकै नेताहरूको सुझावपछि आइतबार नै श्रेष्ठलाई नियुक्त गरेका हुन् ।

नव नियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको शपथ अपराह्न ५ बजे प्रधानमन्त्री कार्यालयमा हुने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ