arrow

रविको पद खारेज भएपछि आफूलाई विजयी घोषित गर्न माग गर्दै उमेश पुगे निर्वाचन आयोगमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
umesh-shrestha-2079-10-22.jpg

काठमाडौं । सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेका रवि लामिछानेको पद खारेज गरिदिएपछि निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ आज सांसद दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिन पुगेका छन् ।  

आयोगमा बिहान साढे ११ बजे सांसद दाबी गर्दै निवेदन दिएका हुन् । उनले आफूलाई विजयी घोषित गर्नुपर्ने माग गरेका छन् । श्रेष्ठले दिउँसो २ बजे ललितपुरस्थित हिमालय होटलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रमसमेत राखेका छन् ।

सर्वोच्च अदालतको फैसला पछि रवि लामिछानेको सांसद पदसँगै खारेज गरेपछि उपप्रधान एवं गृहमन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमेको थियो । 

गत आइतबार नागरिकता पुनः प्राप्तिपछि भने उनले रास्वपाको सभापति पाएका थिए । चितवन २ मा उपनिर्वाचन गनुपर्ने बताइरहेका बेला उमेश श्रेष्ठको निवेदनलाई निर्वाचन आयोगले कसरी हेर्छ भन्ने महत्वपूर्ण छ । 

मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट रविले ४९ हजार ३०० मत पाउँदा उपविजेता बनेका श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । 

त्यस्तै एमालेका कृष्णभक्त पोख्रेलले १४ हजार ६५२ मत पाएका थिए । राप्रपाका रविन अधिकारीले ९५५ मत ल्याएका थिए । 

रवि अनधिकृत ठहरिएपछि कांग्रेसका उमेश श्रेष्ठले आफू स्वतः विजेता घोषित हुन पाउनु पर्ने माग गरिरहेका छन् । 

यसअघि रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीका लागि माग आयोगमा परेको भए पनि आयोगले भने रविलाई बचाएको थियो । 

आयोगले त्यति नै बेला नागरिकता विवादमा कारबाही गरेको भए अहिले यो राजनीतिक अस्थिरता मुलुकले खेप्न पर्ने थिएन । 

उनीविरुद्ध मंसिर ४ अघि नै उम्मेदवारी खारेजीको उजुरी परेको थियो । राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए । 

यसमा भने आयोगले कुनै कानूनी प्रक्रिया नै अगाडि बढाएन । अहिले आएर सर्वोच्च अदालतले रविको विपक्षमा फैसला गरेपछि निर्वाचन आयोग पनि नैतिक दबाबमा परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ