arrow

जितनारायणलाई जिताउन चितवन जाँदै उमेश श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
umesh-shrestha-state-minister-health.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राज्यमन्त्री उमेश श्रेष्ठले चितवन २ को उपनिर्वाचनमा उठ्दै गरेका जितनारायण श्रेष्ठलाई जिताउन चितवन जाने भएका छन् । 

गत मंसिर ४ को निर्वाचनमा चितवन २ बाटै पराजित भएका श्रेष्ठले अब स्थानीय नेतालाई नै सघाउनु पर्छ भनेर आफूले उम्मेदवारी नदिएको बताउँदै जितनारायणलाई जिताउन हरमग्दूर प्रयास गर्ने बताए । 

उनले पार्टी सभापति शेरबहादुर देउवाले फेरि चुनाव लड्नका लागि प्रस्ताव गरेको भए पनि आफूले अब स्थानीय नेतालाई सघाउने वचन दिएको स्पष्ट पारे । उनले भने, ‘म जितनारायणजीलाई सहयोग गर्न भोलि जाँदैछु । मैले साथीहरुलाई अवसर दिउँ भनेर छोडेको हुँ । पार्टीसँग सल्लाह गरेरै छोडेको हुँ । म दश वर्ष सांसद भइसकेँ । केन्द्रीय सदस्य पनि भइसकेँ । मैले कांग्रेसबाट धेरै अवसर पाइसकेको छु । सरसर्ती हेर्दा मैले के विचार गरेँ भनेदेखि स्थानीय साथीलाई सरसल्लाहबाटै मैले छोडेर सहयोग गर्ने भनेरै छोडेको हुँ ।’ 

पार्टीले देउवालाई उम्मेदवार छान्ने जिम्मा देउवालाई दिएको थियो । देउवाले त्यसपछि श्रेष्ठलाई उम्मेदवारीका लागि सोधेका पनि थिए । पूर्वमन्त्री श्रेष्ठले भने आफू नउठ्ने र स्थानीय नेतालाई सघाउने आश्वासन दिएका थिए । 

फेरि पनि चुनाव हारिन्छ भनेर त हैन नि ? भन्ने प्रश्नमा पूर्व राज्यमन्त्री श्रेष्ठले भने, ‘राजनीति भनेको सम्भावनाको खेल हो । त्यहाँ हार र जित निश्चय पनि हुन्छ । फेरि म उद्यमी पनि भएको नाताले मेरो क्षेत्रमा मैले धेरै काम गर्न बाँकी छ ।’

हुनत श्रेष्ठले मंसिर ४ को निर्वाचनमा क्षेत्र ३ रोजेका थिए । तर भागबण्डामा त्यो अर्को दललाई गएपछि उनी २ नम्बरमा आएका थिए । त्यतिबेला पार्टीभित्र केही असन्तुष्टि पनि थियो । तर यतिबेला कुनै असन्तुष्टि छ भने पनि त्यसलाई बिर्सेर कांग्रेस सबै एक जुट भएर जितनारायणलाई जिताउनु पर्नेमा उनको जोड छ । 

उनी आफू आफ्नो काममा कतै पनि असफल भएका छैनन् । तर चितवन २ मा मंसिर ४ मा असफल भए । उनी भन्छन्, ‘म असफल मानिस हैन । तर चितवन २ मा फेल भएँ । मैले त्यसलाई समीक्षा पनि गरेको छु । मेरो गल्ती भयो । मैले स्थानीय साथीहरुसँग कुरा गरेर जानुपर्दथ्यो । तर अब भने म सक्रिय भएर राम्रा साथीहरुलाई सघाउने छु ।’

उनले राजनीति भनेको पेशा नभइ सेवा भएको हुनाले त्यो सेवाभाव हुने गरी आफूले सहयोग गर्ने बताए । उनले चितवन २ को अन्तरकलहलाई आफूले राम्रोसँग बुझेकाले त्यसलाई सहजीकरण गरेर जीतनारायणजीलाई जिताउन लागिपर्नेछु ।’

उनले अगाडि भने, ‘जितनारायण व्यक्तिमात्र हैन उहाँ युवा हो । कांग्रेस हो । पार्टीभित्र मिलेर जाने र माओवादी तथा एकीकृत समाजवादीको मत आउने हो भने जित निश्चित छ ।’

नेता श्रेष्ठले राष्ट्र बनाउनका लागि राजनीति नै महत्वपूर्ण भएकाले राजनीतिमा होमिएको बताएका छन् । समृद्धिका लागि ऐन कानून नै महत्वपूर्ण भएकाले त्यहाँ गएको बताउँदै उनले शिक्षा र स्वास्थ्यसँगै औद्योगिक क्रान्ति जरुरी रहेको बताएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ