- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फेसबुकमार्फत आफूले पदबाट राजीनामा दिने बताएसँगै आइतबार दिनभर फुटबलकर्मीहरुबीच सरगर्मी बढ्यो । उनले दिउँसो १२ बजेर २१ मिनेटमा फेसबुकमार्फत नेपाली फुटबल फ्यानहरुलाई सम्वोधन गर्दै आफू अखिल नेपाल फुटबल संघ एन्फामा राजीनामा दिन गइरहेको बताएका थिए ।
उनले आफ्नो राजीनामा अरु कसैको नभई एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण भएको बताएका छन् । उनले नेम्वाङमाथि आरोप लगाउने क्रममा पछिल्लो तीन हप्तादेखि हरेक दिन आफूमाथि नाटक गरिरहेको बताए । अलमुताइरीले आफ्नो राजीनामाले नेम्वाङ खुशी हुनेसमेत उल्लेख गरेका छन् ।
त्यसपछि भने अलमुताइरीले कुनै पनि स्टाटस लेखेनन् । एन्फा प्रवक्ता किरण राईले अलमुताइरी एन्फामा पुगेको भए पनि राजीनामा भने नदिएको मिडियालाई बताएका छन् । तर उनले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग कुराकानी गरेर फर्केको बताइएको छ ।
अलमुताइरीले सामाजिक संजालमा एन्फाका पदाधिकारीका कारणले राजीनामा दिन लागेको बताएपछि एन्फाविरुद्ध चर्को विरोध भएको छ । उनलाई पछ्याउनेहरुले एन्फालाई गाली गरेका छन् । नेम्वाङको समेत विरोध भएको छ ।
नेम्वाङले भने आफूमाथि गलत आरोप लगाइएको बताएका छन् । उनले प्रशिक्षक अलमुताइरीसँग आफ्नो प्रत्यक्ष भेटघाटसमेत नभएको स्पष्ट पारेका छन् ।
उनले फेसबुकमार्फत कुराकानी भए पनि त्यो निकै सामान्य रहेकोसमेत बताएका छन् । तर आफूमाथि यस्तो गम्भीर आरोप लगाउनुको पछाडिको रहस्य बुझ्नुपर्नेसमेत बताएका छन् । उनले यसको सत्यतथ्य पत्ता लगाउन छानबिनको समेत माग गरेका छन् ।