- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर । सन् २०२२ सम्ममा सरकारले नेपालमा बाघको सङ्ख्या दोब्बर गर्ने लक्ष्य राखे पनि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने बाघको सङ्ख्या स्थिर रहेको छ । नेपालमा बाघको सङ्ख्या दोब्बर गर्ने सरकारी लक्ष्य पूरा हुन करिब डेढ वर्ष मात्र बाँकी छ । यस्तै अवस्था रहेमा सरकारको दोब्बर गर्ने लक्ष्य पुरा हुने अवस्था न्यून देखिन्छ ।
शुक्लाफाँटामा झन्डै १२ वर्ष अगाडि बाघको गणना गर्न थालिएको थियो । सन् १९९५ देखि २०१८ सम्ममा बाघ गणना भइसकेको छ । सन् १९९५ मा निकुञ्जमा १६ बाघ रहेकोमा २६ वर्षको अवधिमा समेत १६ वटै बाघ रहेका छन् । त्यो बिचमा केही घटबढ भए पनि हाल भने बाघको सङ्ख्या स्थिर रहेको पाइएको छ । सन् २००२ मा भने १६ बाट वृद्धि भएर २६ मा पुगेको थियो । तीन वर्षको अवधिमा ८ ले घटेर २००५ मा बाघको सङ्ख्या १८ पुगेको थियो । २०१३ मा १७ र २०१८ मा बाघको सङ्ख्या १६ मै पुगेको छ । यसरी शुक्लाफाँटा निकुञ्जमा २६ वर्ष अघि १६ रहेको बाघको सङ्ख्या बिचमा केही घटबढ भए पनि हाल पुरानै अवस्थामा स्थिर रहेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत रविन चौधरीले सन् २०१८ मा गरिएको गणनाअनुसार ९ भाले, ६ पोथी र एउटा लिङ्ग पहिचान नभएको बताए । उनले हाल निकुञ्जमा १६ बाघ रहेको बताए । ‘उनले भने, ‘अहिले तीन वर्ष अघिको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ ।’ सूचना अधिकारी चौधरीका अनुसार सन् २०१३ सालदेखि मात्र निकुञ्जले क्यामेरा ट्यापिङ विधि मार्फत निकुञ्जमा बाघ गणना गरिएको थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले सन् २०२१ मा पनि बाघ गणना गरिएको बताए । ‘हामीले यस वर्ष पनि बाघ गणना गरेका छौँ, ‘उनले भने, ‘सम्भवतः सन् २०१८ को तुलनामा बाघको सङ्ख्यामा वृद्धि हुने अपेक्षा राखेका छौँ ।’ उनले प्राविधिक तथा प्रशासनिक विषय भएकाले यसलाई छिट्टै सार्वजनिक गर्ने बताए । निकुञ्जमा पछिल्लो पटक बाघको गणना गरिएको भए पनि आधिकारिक रूपमा तथ्याङ्क सार्वजनिक गरिएको छैन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्दो अतिक्रमण, अवैध प्रवेश गरेर चोरी सिकारी गर्ने, अति चरी चरन, आहाराको कमीलगायतका कारण बाघ संरक्षणमा चुनौती थपिएको छ ।