arrow

सिंहदरबारको बेवास्ताको शिकार बने दार्चुलाका धामी, बगे तुइनसँगै

सीमाका तुइन पटक-पटक किन काट्छ एसएसबीले ? 

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ साउन १६ शनिबार
tuhin-darchula-mahakali.jpg

काठमाडौं। यतिबेला भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर दार्चुलामा एक जना नेपालीले ज्यान गुमाएको घटनाले देशभर चर्चा लिएको छ । शुक्रवार बिहान ब्याँस गाउँपालिका वडा नम्बर २ मालका स्थानीय ३५ वर्षीय जयसिंह धामी तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् ।

घटना घटेपछि गृह मन्त्रालय छानबिन समिति गठन गरेको छ । हरेक घटनामा मानवीय क्षति भएपछि मात्रै होस् आउने बानी सरकारले यो पटक पनि देखायो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको उपलब्धिमा तुइन मुक्त नेपाल भनेका थिए । काठमाडौंमा केपी ओलीले तुइनमुक्त नेपाल घोषणा गरिरहँदा दाचुर्लामा नागरिकहरू तुइन चढेरै यात्रा गरिरहेका थिए ।

चुनावी र राजनीतिक स्वार्थका एजेण्डा बनाउन कालापानी, लिपुलेकसम्मका कुराहरू सरकारबाट आउँछन् । तर, बाँकी सीमानाको कुरा त छोडौँ हाल बहाल रहेको सिमानाकै नागरिकको सुरक्षा अथवा हेरचाह सरकारले गर्न सकेको छैन । 

केन्द्र सरकारले नै सीमाका नागरिकको दुख सुख नबुझेकै कारण शुक्रवार नेपालीले ज्यान गुमाउन परेको स्पष्ट छ । सो क्षेत्रमा पुल बनाउनका लागि सम्झौता भइसक्दा समेत पुल बन्न सकेन । जसको दोष उताका सीमा रक्षकहरूलाई लगाएर मात्र हुँदैन ।

यसको मुख्य दोषी हाम्रै सरकार हो, जसले आफ्ना नागरिकलाई आफ्नै देशमा आउन पनि बाध्य भएर अर्काको देशबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाउँछ । त्यो पनि दुवै देशका सरकारको जानकारी विना अवैध रूपमा राखिएका तुइनहरूबाट।

सुदूरपश्चिमको जिल्ला दार्चुलाका पनि सुदूरका नागरिकहरूको पीडामा सरकार कहिल्यै मलहम लगाउन तयार भएन। केन्द्रमा बसेर प्रोपोगण्डा गर्नेहरू सीमान्तमा बस्नेहरूको पीडालाई बेच्न मात्र जान्दछन्। त्यो पीडालाई कम गराउन भूमिका खेल्दैनन्। अझ काठमाडौं अनि विदेशमा समेत बसेर सिमान्त गाउँमा बसेकाहरूको भावनामाथि खेलबाड गर्छन्।

आफ्नै जिल्ला सदरमुकाम आउन समेत अर्काको देश लुकीछिपी गएर आउनुपर्ने बाध्यतालाई तथाकथित राष्ट्रवादी बन्नेहरूले उचालेर फेरि पनि हामी जस्तै नागरिकलाई जिउन कष्ट पारिरहेका छन्।

कुनै घटना हुँदा वल्लो गाउँ पल्लोगाउँका जस्ता छिमेकीहरूका विरुद्ध काठमाडौं र अन्य ठाउँबाट व्यक्त गरिएका शब्दहरूले लामो समयसम्म हामीलाई नै घोच्ने काम हुँदै आएको छ। तुलनात्मक रूपमा साधन स्रोत उनीहरूलाई त के भएको छ र ?

महाकाली नदीमा किनारमा झरेर तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका धामी हुन वा यस क्षेत्रका अन्य कोही जो कोही पनि यो जोखिम उठाउन अभिशप्त छन्। धामीसँगै गएका केही अरू तुइन तरेर भारतर्फ पुगिसकेपछि उनको भने बाँकी जीवन बाच्न भाग्य रहिनछ । हरिया बुटा हेर्ने रहर उनलाई पनि थियो होला तर सिंहदरबारको भरोसामा उनले बाँकी जीवन जिउन पाएनन्।

बेपत्ता रहेका धामी तुइन तरेर भारततर्फ पुग्न एक दुई मिटिर बाँकी रहेका बेला भारतीय सीमा बलका दुई जना एसएसबी भारततर्फ तुइनको तार बाँधिएको रुख वा ढुङ्गातर्फ आएको प्रत्यक्षदर्शी र ब्याँस गाउँपालिकाका अध्यक्ष दिलीप बुढाथोकीले बताएका छन्।

एक जना एसएसबी अलिमाथि नै उभिएको र अर्का एसएसबी तुइन बाँधिएकै ठाउँमा पुगेका थिए । यो हुँदासम्म त्यहाँ तुइन तरेका अन्य नागरिकहरू एसएसबीलाई देखेर भागेर माथि आइसकेको बुझिएको छ ।

घटनास्थलको नजिक रोडबाट घटना देखेको बताउने एक जना स्थानीयले एसएसबीले तार खोल्न लाग्दा डरले ती व्यक्ति नदीमा खसेको बताए । तुइन काटेको हो अथवा फुकालेको हो,जे भए पनि तुइनको तार नदीमा लतारिदा ती व्यक्ति पनि नदीको सतहमा छुन पुगेको र तारले नै बेरिएर अथवा तारमा लट्टिएर नदीमा बगेको हुनसक्ने ब्याँस गाउँपालिकाका अध्यक्ष बुढाथोकीको भनाइ छ । अध्यक्ष बुढाथोकीले पनि घटनाबारे स्थानियस्तरमा जाँचबुझ गरिरहेका बताएका छन् ।

के भन्छ प्रहरी ?

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले घटनास्थलमा तुइनको तार नभेटिएको बताएका छन् । हिजो शुक्रबार नै बिहान करिब ११ बजे घटना स्थलमा प्रहरी टोली पुगेको र त्यहाँ तुइन नभेटिएको उनले बताए । घटना बिहान साढे सातदेखि आठ बजेतिर घटेको थियो ।

आज शनिबार पनि प्रहरी टोली अनुसन्धानका लागि गइरहेको र साँझसम्म थप विवरण आउने उनले बताएका छन् । घटनास्थलमा तुइन भेटिएन भन्नुको अर्थ तुइनको तार नै नदीले बगाइसकेको अनुमान गर्न सकिन्छ ।

हाम्राकुरालाई प्राप्त भिडियोमा फरक तथ्य

हाम्राकुरालाई प्राप्त एक भिडियोमा घटना अलि टाढाबाट देखेको बताउने व्यक्तिले एसएसबीले तुइन फुकाल्न खोज्दा डरले आत्तिएर आफैं नदीमा खसेको बताएका छन् । एसएसबीले तुइन काटेको नभई फुकाल्न खोज्दा बेपत्ता भएका धामी आफैं डरले आत्तिएर नदीमा खसेको आफूले देखेको ती व्यक्तिले भनेका छन् ।

यद्यपि, तुइन तर्ने बेला आफ्नो छाती, खुट्टा र कम्मरलाई छुट्टै डोरीले तारसँगै बाँध्ने गरिन्छ । त्यो डोरीलाई स्थानीय भाषामा ताक्लो भनिन्छ । तर, सबैले तीनै वटा ताक्लोको प्रयोग नगर्ने पनि गर्छन् ।

सो भिडियोमा बोलेको सुनिने अर्का व्यक्तिले त्यसो भए एसएसबीलाई किन बदनाम गर्न खोज्दै छन् त भनेर बालेको पनि सुनिन्छ । यो सबै कुराकानी दार्चुलाकै भाषामा भएको छ ।

सामाजिक सञ्जालमा फेला परेको तस्वीर

यस्तै सामाजिक सञ्जालमा फेला परेका दुई तस्वीरमध्ये एक तस्वीरमा एक जना भारतीय सीमा सुरक्षा बलको जवानको हातमा फलामे तार या रड काट्न प्रयोग हुने सानो खाले मेसिन देखिन्छ ।

अर्को तस्वीरमा माथि उल्लेखित भिडियोमा बोल्ने नागरिकसँग एसएसबीले केही भनिरहेको पनि देखिन्छ । भिडियो र फोटोको तुलना गर्दा ती दुवै जना एसएसबी नै तुइनको घटना घटेको ठाउँतिर आएको अनुमान गर्न सकिन्छ ।

जोखिम मोलेर किन तर्छन् तुइन ?

दार्चुलाको सदरमुकाम खलङ्गाभन्दा माथिल्लो हिमाली भेगका स्थानीयहरू सदरमुकाम आउनुपर्दा खासगरी भारतको बाटो भएर आउने गर्छन् । किनकि नेपालतर्फको सरकारले सडक बनाउनु त परको कुरा राम्रो हिँड्ने बाटो समेत बनाएको छैन । माथिल्लो हिमाली भेगका स्थानीयहरूलाई नेपालकै बाटो भएर सदरमुकाम आउन एक, दुई दिन लाग्छ ।

त्यसैकारण उनीहरू महाकाली नदी किनारमा झर्छन् र त्यहाँबाट तुइनबाट नदी तरेर भारतीय भूमिमा पुग्छन् । भारततर्फ भने महाकाली किनारमै पक्की सडक रहेको छ । सो सडकबाट गाडीमा उनीहरू एक डेढ घण्टामै भारतको धार्चुला पुग्छन् र त्यहाँ रहेको महाकालीमाथिको पुल तरेर दार्चुला सदरमुकाम खलङ्गा पुग्छन् ।

यसरी भारतको बाटो आउँदा एक दुई घण्टामै दार्चुला सदरकुकाम पुग्न सकिन्छ । यसरी दार्चुला सदरमुकाम आउनेमा ब्याँस, राप्ला, सुनसेरा, डोकट, तिग्रौं क्षेत्रका नागरिकहरू हुन्छन् । शुक्रवार बेपत्ता भएका नागरिक ब्याँसका हुन् ।

कस्तो हुन्छ तुइन ?

तुइन भनेको खासगरी सडकमा हामीले बिजुलीको पोलमा देख्ने अथवा झोलुङ्गे पुलमा प्रयोग हुने किसिमको तार हो । यो तारलाई नदिको वारी र पारी रुख अथवा ठुला ठुला ढुङ्गामा मज्जाले कसेर बाँधिन्छ । नदीको सतहभन्दा केही माथि हुने गरी यसरी दुवैतर्फ रुख या ढुङ्गामा तार बाँधिन्छ ।

त्यसपछि यसै तारमा झुन्डिएर अथवा ताक्लो प्रयोग गरेर लम्पसार भएर मानिसहरू आवतजावत गर्छन् र सामानहरू पनि वारिपारि गर्ने गर्छन् ।

तुइन किन काट्न खोज्छ एसएसबी ?

महाकाली नदीको माथि राखिएका अधिकांश तुइन भारत अथवा नेपाल सरकारबाट अनुमति लिएर या आधिकारिक रूपमा भने बनाइएको हुँदैन । स्थानीयहरू आफैंले सदरमुकाम जान बाध्य भएर तुइन जडान गरेर प्रयोग गर्छन् । किनकी नेपालतर्फबाट जाने हो भने बाटो झनै जोखिमपूर्ण र लामो समय लाग्ने हुन्छ । यसको विकल्पमा बाध्य भएर स्थानीयहरूले आफैं तुइन जडान गरी प्रयोग गर्छन् । आफ्ना नागरिकको वास्ता नगर्ने सरकारकै कारण यसरी स्थानीयहरूले बाध्य भएर अवैध रूपमै भए पनि तुइन हाल्दै आएका छन्। यसमा केन्द्रदेखि प्रदेश सरकार सम्मकै लापरबाही देखिदै आएको छ। 

सीमा क्षेत्रमा तुइन बनाउँदा कालोबजारी हुने, अवैध ओसारपसार हुने लगायतका कारण देखाउँदै भारतीय पक्षले तुइन काट्दै आएको छ । यसअघि पनि तुइन काटेको समाचार आइरहे पनि मानवीय क्षति नै भएको भने पहिलो पटक भएको ब्याँसका अध्यक्ष बुढाथोकीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ