arrow

दार्चुला घटनाको वास्तविकता पत्ता लगाउने कार्य अघि बढ्यो, भारतीय पक्षसँग जानकारी माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १७ आइतबार
tuhin-darchula-mahakali.jpg

काठमाडौं। गृह मन्त्रालयले दार्चुला घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिई सकेको जनाएको छ । 

यही साउन १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्तिहरू भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटी दिएकाले धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी प्रकाशित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार उक्त घटनाप्रति दुःख प्रकट गर्दै स्थानीय प्रशासन एवं सुरक्षा निकायलाई त्यसको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिई सकेको छ । घटनाको वास्तविक सत्य तथ्य जानकारी तथा खोज उद्धारको लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको ४४ नं गण र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटनास्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ । 

घटनास्थल सदरमुकामबाट पाँच घण्टा पैदल दूरीमा रहेको हुँदा टोली फर्किएपछि यर्थात जानकारी प्राप्त हुनेछ । सो घटनाको अनुसन्धान तथा छानबिन जारी रहेकाले सत्य तथ्य पुष्टि भई नसकेको अवस्थामा भ्रम सिर्जना हुने गरी सूचना एवं समाचार प्रकाशित नगरिदिन मन्त्रालयले अनुरोध गरेको छ । 

दार्चुला प्रशासनले भारतीय पक्षसँग जानकारी माग्यो

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाका सम्बन्धमा सत्यतथ्य जानकारी गराई आवश्यक कारबाही अगाडि बढाउन भारतीय पक्षसँग माग गरेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नदी तर्न खोज्दा तुइन काटिदिएको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूबाट सार्वजनिक भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी)ले आज एक विज्ञप्ति जारी गरी घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाई नेपाललाई जानकारी गराउन र कारबाही प्रक्रिया अघि बढाउन आफ्ना भारतीय समकक्षीलाई पत्राचार गरेको बताएका छन् ।

“उक्त घटनाका सम्बन्धमा अनुसन्धान एवं छानबिन भइरहेको र सत्य तथ्य पुष्टि भई नसकेकाले दुई देशबीचको सम्बन्धमा आँच आउने किसिमका भ्रामक समाचार प्रकाशन नगर्न सम्बद्ध सबैमा अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयले उक्त घटनाको वास्तविकता बुझ्न सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयका पदाधिकारी सम्मिलित टोली घटनास्थलमा खटिएको र हालसम्म कुनै जानकारी प्राप्त नभएको जनाउँदै घटनाको उक्त टोलीबाट जानकारी प्राप्त हुनासाथ त्यसलाई सार्वजनिक गरिने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ