arrow

दार्चुला तुइन प्रकरण : प्रत्यक्षदर्शीलाई बयानका लागि सदरमुकाम ल्याइयो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
tuhin-darchula-mahakali.jpg

दार्चुला । महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे अनुसन्धान गर्न प्रत्यक्षदर्शी तीन जनालाई सोमबार जिल्ला सदरमुकाम खलङ्गा ल्याइएको छ। शुक्रवार घटेको घटनाका प्रत्यक्षदर्शी मानिने तीन जनालाई खलङ्गा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले जानकारी दिए । 

घटना घटेको ब्यास गाउँपालिका-२ माल क्षेत्रमा शनिवार सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक, नेपाल प्रहरीका प्रहरी निरीक्षक , राष्ट्रिय अनुसन्धानका प्रतिनिधिको अनुसन्धान टोली खटिएको थियो । सो टोली पनि त्यहाँको प्राप्त जानकारी सहित प्रत्यक्षदर्शीलाई लिएर सदरमुकाम पुगेको छ । अब उनीहरूको बयान हुने जनाइएको छ । 
 
जिल्ला सदरमुकाम खलङ्गा आउन भारतको बाटो हुँदै महाकालीको तुइन तर्ने क्रममा ब्यास-२ का ३३ वर्षीय जयसिंह धामी शुक्रवार बिहान नदीमा बेपत्ता भएका थिए । धामी बेपत्ता हुनुमा एसएसबिको संलग्नता रहेको स्थानीयहरूले बताइरहेका छन् ।

तुइन काटिएको सम्बन्धमा भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नता नरहेको भारतले जवाफ पठाएको छ । यस घटनाबारे गृहमन्त्री बालकृष्ण खाडले ५ सदस्यीय छानबिन समिति गठन गरी घटनास्थल पठाएको छ । 

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा रहेको टोली सोमवार धनगढी पुगेको र भोलि दार्चुला पुग्ने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ