arrow

तुइन घटना : छानबिन टोलीले घटनास्थल भारतको गँस्कु र नेपालको मालघाट अवलोकन गर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
mahakali-dhami-tuin-toli.jpg

दार्चुला । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको टोलीले घटनास्थल भारतको गँस्कु र नेपालको मालघाट अवलोकन गरेको छ । बिहीबार भारतीय बाटो हुँदै भारततर्फकै घटनास्थल गँस्कु अवलोकन गरेको समितिले शुक्रवार नेपाली सेनाको हेलिकप्टरमार्फत ब्याँस गाउँपालिका-२ मालघाट पुगेको हो । 

उक्त टोलीले पीडित परिवारसँग छलफल र मालघाटको स्थलगत निरीक्षण गरेको छानबिन समिति सदस्य ज्योत्स्ना भट्टले जानकारी दिए । बिहीबार नेपालतर्फ स्थलगत रूपमा टोली अध्ययन गर्न नआएको भन्दै स्थानीय र नेकपा विप्लव समूहका कार्यकर्ताले नारा जुलुस समेत गरेका थिए । 

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली गत मङ्गलवारदेखि दार्चुलामा छ । सहसचिव जनार्दन गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहेका छन् । 

छानबिन समितिको टोलीले बुधवार प्रत्यक्षदर्शी, मानवअधिकारकर्मी, पत्रकार, राजनीतिक दल र ब्याँस गाउँपालिकाका प्रतिनिधिहरू सँग छलफल गरेको थियो । छलफलपछि टोली घटनास्थलतिर प्रस्थान भएको हो । गृह मन्त्रालयले टोलीलाई १० दिन भित्र प्रतिवेदन बुझाउन भनेको छ । 

साउन १५ गते माल गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । धामी बेपत्ता भएको ७ दिन बित्दासमेत शव भेटिएको छैन । आफन्तले कुशको प्रतिमूर्ति बनाएर अन्त्येष्टि गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ