arrow

गाउँपालिका अध्यक्षको गुण्डागर्दी : लेखापालमाथि हातपात गर्दै भने -म गुण्डा पनि हुँ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
terthum-athrai-gaupalika.png

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले गाउँपालिका कार्यालयमै लेखापाल सुजन थापामाथि हातपात गरेका छन् । अध्यक्ष लिम्बूले आफूले जाँड खाएको सहित गैर कानुनी भुक्तानी गर्नका लागि दबाब दिँदै आएका थिए । 

आइतबार मादक पदार्थ सेवन गरी गाउँपालिका कार्यालय पुगेका लिम्बूले काम गरिरहेका कर्मचारी थापालाई बोलाएर सेवाग्राहीकै माझमा गालीगलौज र ज्यान मार्ने धम्कीसहित हातपात गरेका हुन् । लेखापाल थापाले अध्यक्ष लिम्बू, गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक कृष्णप्रसाद चम्लागाई र शिक्षा शाखाका सल्लाहकार नन्द दर्नालले मिलेर आफूमाथि हातपात गरेको भन्दै स्थानीय इलाका प्रहरी कार्यालय र इलाका प्रशासन कार्यालयमा उजुरी दिएका छन् । 

‘अध्यक्षज्यूले मलाई एक्कासि बोलाउनुभयो । गाउँपालिकाको प्राङ्गणमा म अध्यक्ष मात्र होइन, गुण्डा पनि हुँ भन्दै मलाई हातपात गर्नुभयो । मैले आजै रातभरिमा गाउँपालिका नछोडे ७ जना गुण्डा लगाएर घाँटी काटिदिने उहाँको धम्की छ,’ थापाले भने । लेखापाल थापाले आफ्नो शान्ति सुरक्षाको माग गर्दै घटनामा दोषीउपर कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । 

असारमा योजना सम्झौता, साउनमा भुक्तानी 
गाउँपालिका अध्यक्ष लिम्बू र लेखापाल थापाबिच व्यक्तिगत लेनदेन होइन, कार्यालयको योजना सञ्चालनको बजेट भुक्तानीका विषयमा खटपट परेको हो । त्यो पनि यो पहिलो पटक भने होइन । गाउँपालिका अध्यक्षले लेखापाल थापामाथि पहिले पनि पटक-पटक दुर्व्यवहार गर्थे । लेखापाल थापाले आफूमाथि पहिल्यैदेखि निरन्तर दुर्व्यवहार हुँदै आएको बताए ।

 ‘दुर्व्यवहार निरन्तर हुँदै आएको हो । पहिले कार्यालयमै बसेर मिलाउँथ्यौँ । मैले पनि सहेकै थिएँ । अझ मैले त आफू अनुकूल काम गर्ने मान्छे ल्याउनुस् भनेर पहिल्यै सरुवा पनि मागेको थिएँ । तर, बेलामा जान दिनुभएन,’ उनी भन्छन्, ‘उहाँहरूकै ढिलाइका कारण सरुवा पनि हुन पाएन ।’ उनले गाउँपालिकामा आफूले जिम्मेवारी लिएर आएदेखि नै गैर कानुनी भुक्तानी रोक्ने गरेको बताए । ‘मैले प्रक्रिया नपुगेका र कानुनले दिन नमिल्ने भुक्तानी रोक्ने गरेको थिएँ, मैले त्यस्ता कागजात प्रमुख प्रशासकीय अधिकृतलाई बुझाउँदै आएको छु,’ उनले भने । 

गाउँपालिकामा लेखा अधिकृत र लेखापालको दरबन्दी छ । तर, लेखा अधिकृतको दरबन्दी रिक्त छ । लेखापाल थापाले नै सबै काम गर्छन् । उनलाई आन्तरिक लेखा परीक्षक इन्द्र दुलालले सघाउँछन् ।  साधारणता हरेक वर्ष असार मसान्तमा योजना सञ्चालनको रकम भुक्तानी हुन्छ । जति काम हुन्छ, त्यस विपत्को भुक्तानी हुन्छ । तर, स्थानीय तहमा जनप्रतिनिधिले दबाब दिएर आफूले चाहे जसरी भुक्तानी गराउँछन् । त्यसलाई यही घटनाले पुष्टि गर्छ । 

यो वर्ष असार २३ गतेदेखि २८ गतेसम्म तोक लागेका करिब ७ सय फाइलहरू थिए । अध्यक्ष लिम्बूकै निर्देशनमा गाउँपालिकामा असार २८ गतेसम्म पनि योजनाको सम्झौता रोकिएको थिएन । उनले तिनको सम्झौता गरेर भुक्तानी गर्न दबाब दिइरहेकै थिए । कर्मचारीले पनि अध्यक्षकै दबाबमा रातदिन लगाएर काम गरे । कागजात अधिकांश फाइलको भुक्तानी दिए । तर, ३० असारको मध्यरातबाट कारोबार गर्ने अनलाइन (सूत्र) बन्द भयो ।  २५७ फाइलको भुक्तानी रोकियो । त्यही बेला अध्यक्ष लिम्बुले कर्मचारीका कारण भुक्तानी रोकिएको भनेका थिए । 

साउन लागेपछि नयाँ आर्थिक वर्ष सुरु भयो । कर्मचारीले पुराना फाइललाई नयाँ आर्थिक वर्षको बजेटबाट भुक्तानी गर्ने प्रक्रिया अघि बढाए । गाउँभाले पनि त्यसलाई सदर गर्‍यो । पुराना फाइलमा नयाँ आर्थिक वर्षको बजेटबाट भुक्तानी दिने सभाकै निर्णयअनुसार लेखापाल थापाले ती फाइललाई पुनः सफ्टवेयरमा इन्ट्री गरेर भुक्तानी दिने प्रक्रिया अघि बढाइसकेका थिए । अहिले गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पनि छैनन् जबकि उनको हस्ताक्षर विना चेक काट्न नै मिल्दैन । 

तर, आइतबार अध्यक्ष लिम्बुले आफूमाथि एक्कासि योजनाबद्ध हमला गरेको लेखापाल थापाको गुनासो छ ।  ‘उहाँहरू एक्कासि आउनुभयो । ममाथि गालीगलौज भयो । पहिले हातले हान्नुभयो । मैले डिफेन्स गरेँ । मैले फर्काएको होइन । त्यसपछि फेरि लात्तीले मेरो पेटमा हान्नुभयो । रोजगार संयोजक कृष्ण चम्लागाईले मलाई समात्नुभयो । नन्द सरले अध्यक्षमाथि त्यस्तो गर्ने भन्दै झम्टिनुभयो,’ थापाले घटनाबारे सुनाउँदै भने, ‘मैले प्रक्रियाअनुसार भुक्तानी अघि बढेको छ भन्दा उहाँले ‘तँ मेरो राजनीति सिद्ध्याउन आएको होस्’ भन्दै हातपात गर्नुभयो ।’

गाउँपालिकाबाट जनप्रतिनिधिले जाँड खाएको विल समेत पास गर्नुपर्छ । नत्र कर्मचारीमाथि हप्कीदप्की हुन्छ । अध्यक्ष लिम्बूले पनि त्यही गर्दै आएका छन् । उनले यस पटक पनि जाँड खाएको करिब चार लाख रुपैयाँ भुक्तानी गर्न दबाब दिइरहेका छन् । अघिल्लो वर्ष पनि त्यस्तै भुक्तानी गर्न लगाएका थिए । 

‘जाँड खाएको हो भनेर थाहा हुन्छ, तर भुक्तानी गर्नू भनेर आदेश आएपछि गर्नुपर्छ । यस पटक पनि त्यस्तै छ । होटेलवालाले प्रस्ट लेखेका छन्, ब्ल्याक लेबल यति, सुकुटी यति भनेर । तर, विलमा त्यस्तो राख्ने कुरा भएन,’ श्रोतले भन्यो । उनले स्थानीय पाथीभरा होटेल र रिता तामाङको होटेलमा खाएको त्यस्तो विल भुक्तानीका लागि प्रक्रिया अघि बढेको श्रोतको भनाइ छ । अध्यक्ष लिम्बूले दिउँसै मापसे गरेर हिँडेकोबारे गाउँपालिका केन्द्रका बासिन्दा यसअघि देखिनै टिप्पणी गर्छन् । उनका लागि मापसे गरेर गाउँपालिका जाने कुरा सामान्यजस्तै बनेको मानिसहरूको आरोप छ ।

‘कानुन एकातिर छ, उहाँहरू आएर यस्तो र उस्तो भन्नुहुन्छ । त्यसमाथि असार मसान्तमा योजना सम्झौता भएको छ, त्यसको दुई तिन दिनमै हामीले भुक्तानी कसरी दिने ?,’ लेखापाल थापा भन्छन्, ‘कम्तीमा त्यसका कागजात त मिलाउनुपर्‍यो । हेर्नुपर्‍यो । प्रक्रिया नै पूरा नभई कसरी भुक्तानी दिने ?’

अध्यक्ष लिम्बूले भने रकम निकासी किन रोकियो ? छरितो गर्नुहोस् भन्दा आफूमाथि हातपात गरेको बताएका छन् । आफूमाथि हातपात भएपछि आफूले पनि आवेगमा आएर हात फर्काएको उनको भनाइ छ । लेखापाल थापाले दलाली गर्नका लागि यी सबै हर्कतहरु गरेको उनी बताउँछन् । जनताको निराशा र असन्तुष्टिलाई हल गर्ने प्रयास गर्दा आफूमाथि नै लेखापाल खनिएको उनले बताए ।  विगतमा पनि आफूलाई रक्सी खाएर आउने भन्दै निराधार आरोप लगाउने गरेको अध्यक्ष लिम्बूले बताए । योजनाको रकम तथा अन्य निकासी दिए बापत रकम लिनका लागि निकासी रोकेर राखिएको उनले बताए ।

थापाभन्दा पहिल्यै अध्यक्षको उजुरी
गाउँपालिका कार्यालयमा कर्मचारीमाथि हातपात गरेका अध्यक्ष लिम्बूले लेखापाल थापाले भन्दा पहिल्यै प्रहरी कार्यालय पुगेर आफूमाथि हातपात भएको उजुरी दर्ता गराएका छन् । श्रोतका अनुसार उनले आफूले मापसे गरे-नगरेको समेत प्रमाणित गराइसकेका छन् । तर, त्यसको रिपोर्टबारे प्रहरी बोलेको छैन । ‘ममाथि लेखापाल थापाले हातपात गरे । उनीमाथि कारबाही गरिपाऊ’ भनेर उहाँले उजुरी दिनुभएको छ,’ एक प्रहरी अधिकृतले सुनाए । अध्यक्ष लिम्बूले पहिल्यै उजुरी गरेपछि प्रहरीले केही समयपछि पुगेका लेखापाल थापाको उजुरी लिनै आनाकानी गरेको थियो । 

नागरिक समाजको धर्ना
गाउँपालिका अध्यक्षले आफ्नै कर्मचारीमाथि हातपात गरेको विषयलाई लिएर स्थानीय नागरिक समाजले प्रशासनमा धर्ना दिएका छन् । सक्रान्तिबजार क्षेत्रका नागरिक समाजले आइतबार जम्मा भएर इलाका प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ