- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) मालदिभ्समा हुने भएको छ । साफको कार्यकारी समितिको बैठकले आगामी असोज १५ देखि २७ गतेसम्म सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र मालदिभ्सले दक्षिण एशियाली फुटबल महासङ्घसमक्ष प्रस्ताव राखेका थिए ।
प्रस्ताव अध्ययनपछि प्रतियोगिता आयोजना गर्ने जिम्मा मालदिभ्सले पाएको हो । नेपालमा पछिल्लो समय कोरोना महामारी बढ्दै गएका कारण साफ च्याम्पियनशिप आयोजना गर्न अनुमति नपाएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
नेपालमा पछिल्लो समय कोरोनाका सङ्क्रमित बढ्दै गएको र कोरोनाका कारणले मृत्यु हुने सङ्ख्या १० हजार नाघिसकेको छ। यही कारणले पनि नेपाल प्रतियोगिता आयोजनाका लागि उपयुक्त देखिएन। नेपालको तुलनामा मालदिभ्स सुरक्षित देखिएको छ।
यसअघि १३औँ संस्करणको साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको थियो । बङ्गलादेशले कोरोनाका कारण साफ च्याम्पियनशिप आयोजना गर्न नसक्ने जनाएपछि कसले प्रतियोगिता गर्ने भनेर केही समय कुर्नु परेको थियो । नेपालले सन् १९९७ र सन् २०१३ मा साफ च्याम्पियनशिप आयोजना गरेको थियो । मालदिभ्सले भने सन् २००८ मा उक्त प्रतियोगिता आयोजना गरेको थियो । त्यतिबेला मालदिभ्सले श्रीलङ्कासित मिलेर संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।
साफमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का र मालदिभ्सले भाग लिने पक्का भएको एन्फाले जनाएको छ । भुटानले भाग लिने वा नलिने विषयमा केही दिनमा निर्णय गर्ने बताइएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले प्रतिबन्ध लगाएका कारण पाकिस्तानले भने साफमा भाग लिन पाउने छैन । नेपालले हालसम्म साफको उपाधि जित्न सकेको छैन ।
नेपाली फुटबल टोलीले बुधवारदेखि कास्कीको पोखरामा साफको तयारी स्वरूप अभ्यास सुरु गर्ने भएको छ । साफ अघि नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेलसमेत खेल्नेछ । नेपालले भारतसित त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आगामी भदौ १७ र भदौ २० गते खेल्ने तय भएको छ ।